काठमाडौं, २७ असार। नेपाली कांग्रेसभित्र प्रदेश समितिको निर्वाचन गर्ने कि तदर्थ समिति बनाएर अघि बढ्ने भन्नेमा किचलो सुरु भएको छ । नयाँ संरचनाअनुसारको प्रदेश समिति निर्माण गर्न विधान संशोधन गर्नुपर्ने भए पनि सो विषयमा संस्थापन र संस्थापनइतर पक्षबीच निर्वाचन गर्ने कि तदर्थ समिति बनाएर अघि बढ्ने भन्नेमा फेरि किचलो सुरु भएको हो । पार्टीको विधान संशोधनका लागि भने महासमिति बैठक आवश्यक पर्छ ।
तर, पूर्वमहामन्त्रीसमेत रहेका उनकै खेमाका भनिएका नेता प्रकाशमान सिंह, शेखर कोइराला र अर्जुननरसिंह केसीसहित अर्का खेमाका नेता कृष्ण सिटौलाले समेत सहमत नहुने भन्दै निर्वाचनमा नै जोड दिएपछि प्रदेश समिति गठनमा विवाद भएको हो ।
पौडेल निवासमा भएको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले प्रदेश संरचनाका लागि तदर्थ समिति बनाउने विषयमा छलफल भएको बताए ।
‘सो विषयमा छलफल र बहस चलिरहेका छन् तर के कसरी निर्माण गर्ने भन्ने विषयमा ठोस निर्णय भएको छैन, धेरैको राय निर्वाचनमार्फत नै समिति गठन गर्नुपर्छ भन्ने छ,’ नेता केसीले राजधानीसँग भने ।
कांग्रेस उच्च स्रोतका अनुसार सभापति देउवाले प्रदेश संरचनाका लागि तत्काल तदर्थ समिति बनाएर जाने र त्यसका लागि आफूले चारवटा प्रदेशको संयोजक राखेर तीनवटा प्रदेशको संयोजक पौडेल पक्षलाई दिन पौडेलसँग प्रस्ताव नै गरिसकेका छन् । सो प्रस्तावमा पौडेल सकारात्मक देखिएको स्रोतले जनाएको छ ।
तर, पछिल्लो समय देउवासँग निकट भएको भन्ने गुनासो खेपिरहेका वरिष्ठ नेता पौडेलले सो विषयमा निर्णय दिन भने सकेका छैनन् । नेता सिटौलाले भने प्रदेश समिति कुनै हालतमा भागबन्डाबाट निर्माण गर्ने पक्षमा आफू नरहेको बताए । ‘विधि विधानअनुसार पार्टी चल्नुपर्छ पनि भन्ने अनि भागबन्डामा जाने भन्ने पनि हुन्छ रु पार्टी जुन कारणले यो अवस्थामा आयो, फेरि त्यही उल्टो बाटो हिड्ने रु’ सिटौलाले भने, ‘अब कुनै हालतमा भागबन्डामा जानुहुँदैन, निर्वाचन प्रक्रियाबाट मतदानमार्फत समिति चयन हुनुपर्छ ।’