मुस्ताङ, २२ असार । मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा आज भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुने मजदुरको संख्या १९ पुगेको छ ।
घाइतेमध्ये पाँच जनालाई मुस्ताङ सदरमुकाम जोमसोममा उपचारका लागि ल्याइएको छ । अन्य घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताए । ‘घटनास्थलमा उद्धार चलिरहेको छ, सबै विवरण आउन बाँकी छ’, प्रजिअ पौडेलले भने।
घटनास्थल जोमसोमदेखि ५० किमीको दूरीमा रहेको जनाइएको छ । प्रजिअ पौडेलका अनुसार उद्धारका लागि घनीबाट गएको प्रहरी टोली र स्थानीयवासी खटिएका छन् । जोमसोमबाट थप प्रहरी घटनास्थलतर्फ गएको प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले बताए ।
दुर्घटना भएको क्षेत्रमा सडक निर्माणको जिम्मा बिरुवा कन्सट्रक्सनले लिएको बेनी–कोरला सडक खण्डका इञ्जिनियर जगत प्रजापतिले बताए । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । रासस