Indrenionline.com

केसीको उपचार गर्न सरकारले जुम्ला पठायो चिकित्सकहरु

काठमाडौं, २२ असार । जुम्लामा अनशनरत डा. गोविन्द केसीले काठमाडौंबाट आएका चिकित्सकबाट स्वास्थ्य जाँच गर्न मानेनन् । गत शनिबारदेखि अनशनमा रहेका डा. केसीको स्वास्थ्य जाँच्न वीर अस्पतालबाट डाक्टरद्वय जीवन थापा र सुवास रेग्मी जुम्ला आएका थिए ।

स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनपछि दुई विशेषज्ञ चिकित्सक जुम्ला आए पनि केसीले सरकारले खटाएका चिकित्सकबाट नजाँच्ने जवाफ दिएका थिए । त्यसपछि वीरका डाक्टरले उपचारमा संलग्न अन्य चिकित्सकलगायतबाट केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । उनीहरूले केसीको अवस्था सामान्य रहेको र आत्तिहाल्नुपर्ने नभएको ब्रिफिङ गरेका छन् ।

नयाँ पत्रिकामा अबर छ- डा. केसीको उपचारमा संलग्न डा। प्रवीणकुमार गिरीले केसीको स्वास्थ्यमा अनशन बस्नुअघि र अहिले के फरक छ भन्ने अवस्था नभएको बताए । ‘अनसन बस्नुअघि स्वास्थ्य जाँच गर्न पाइएन, पहिले जँचाएको रिपोर्ट भएको भए अहिलेको रिपोर्टसँग दाँजेर यथार्थ बुझ्न सकिन्थ्यो । के बिग्रियो या के सुध्रियो कसरी भन्ने रु’ डा। गिरीले भने ।

अत्यधिक छाती दुखेपछि केसीलाई बिहीबार अस्पताल लगिएको थियो । उनलाई अक्सिजन र स्लाइन लगाएर सामान्य उपचार भइरहेको छ । उनले ग्लुकोज पानी र कतिपय औषधिसमेत खान नमानेको डा. गिरीले बताए ।