काठमाडौँ, १४ असार । गृहमन्त्री रामबहादुर थापाले सुन तस्करी माथिको जारी छानबिनमा उच्च तहका व्यक्तिहरु पनि छानबिनको घेरमा आएको बताएका हुन् ।
सुन तस्करीमा उच्च राजनीतिक र प्रशासनिक क्षेत्रको संलग्नताबारे सांसद प्रेम सुवालको प्रश्नको जवाफ दिँदै उनले उच्च निकायका व्यक्ति पनि अनुसन्धानको घेरामा आएका छन् तर अनुसन्धान जारी रहेकाले अहिले सबै भन्न स्पष्ट नसकिने जवाफ दिए ।
“भ्रष्टाचार विरुद्धको शून्य सहनशीलतालाई अनुभूति हुने गरी कानूनी कार्यान्वयन गर्न सरकार कटिबद्ध छ”, मन्त्री थापाले भने, “तस्करी, भ्रष्टाचार र जनविरोधी हर्कत नियन्त्रण गर्न गरी शान्तिसुरक्षा र अमनचयन कायमका गर्नका लागि सरकार कटिबद्ध छ ।”
कानूनबमोजिम भएका सम्झौता कार्यान्वयन गराई तोकिएको गुणस्तर र समयमा काम नगर्ने ठेकेदारहरुलाई कानूनी कारबाही गर्न मन्त्रालयले आफ्नो भूमिका प्रभावकारी रुपमा अगाडि बढाएको छ भन्दै उहाँले सम्भावित विपद्बाट हुन सक्ने जोखिमका लागि रकम निकासा भइसकेको, सडक दुर्घटना र प्राकृतिक विपद्बाट ज्यान जोखिममा पर्ने समस्या समाधानका लागि नीतिगत व्यवस्था गरिएको बताए ।
नागरिकता प्राप्तिको हक सुनिश्चितताका लागि कानून तर्जुमा गरी कानून मन्त्रालयमा प्रस्ताव पठाइएको जानकारी दिँदै उहाँले सीमा सुरक्षा विशेष अभियान सञ्चालन गरी अपराध नियन्त्रण गरिने बताउनुभयो । मन्त्री थापासँग, दिलेन्द्रप्रसाद बडू, विमलप्रसाद श्रीवास्तव र रामबहादुर विष्टले थप स्पष्टीकरण मागेका थिए । रासस