Indrenionline.com

यार्सा भेटाउन मुस्कील

नरेन्द्र कार्की
दार्चुला, १४ असार । मार्मा गाउँपालिका ४ का दानमती महरा ९ महिने दुधेबालक बोकेर गत २२ वैशाखमा यार्सागुम्बा खोज्न भन्दै लोलु पुगेकी थिइन् । डेढ महिनासम्म यार्सा संकलन गर्दा पनि यार्सागुम्बा नपाइएपछि उनी निराश हुँदै घर फर्किएकी हुन् ।

सोचेअनुसार यार्सागुम्बा नभेट्टिएपछि उनी मात्रै हैन अधिकांश संकलनमा निराशा छाएको छ । अपिहिमाल गाउँपालिकाअन्तर्गतका पाटनमा गएका सयौं संकलकले गत विगतका वर्षभन्दा निकै कम यार्सागुम्बा पाएको भन्दै निराशा व्यक्त गरेका छन् ।
विगतमा झन्डै ५ सय गोटा यार्सागुम्बा भेटिने गरेकोमा यसपटक २ सय जति यार्सा मुस्किलले भेटाएको महरा बताउँछिन् । यार्सा पाइने पाटनमा जथाभावी फोहोर फालिनु, प्लास्टिको प्रयोग बढी हुनु, यार्सा खनेर निकाल्नुजस्ता कारणले यार्सागुम्बा कमी भएको हुन सक्ने अपिहिमाल गाउँपालिका ५ का वीरेन्द्रसिंह धामी बताउँछन् । वनमा जथाभावी फडानीले दोहोन गरिएको छ ।

फोहोर जताततै छ । आगलागी, वन फडानी र यार्सागुम्बाका नाममा विभिन्न जडिबुडी खनिन थालेपछि यार्सागुम्बा लोप हुँदै गएको धामीको भनाइ छ ।

अहिलेको अनुपातमा यार्सा संकलनमा कमी आए हिमाली क्षेत्रको प्रमुख आयस्रोतको लोप हुँदै जाने प्रति स्थानीय गोविन्द धामीले चिन्ता व्यक्त गरे । विगतको तुलनामा दोब्बरले यार्सागुम्बामा कमी आएको छ ।

संरक्षणको जिम्मेवारी पाएको अपिनाम्पा संरक्षण क्षेत्रले वन संरक्षणमा ध्यान नदिएको स्थानीयको आरोप छ । राजधानीमा खबर छ संरक्षणको नाममा आउने बजेट हरेक वर्ष उपभोक्ता समितिलाई मोटाउने बाहेक संरक्षणको काम हुन नसकेको स्थानीयको आरोप छ ।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुला, गाउँपालिकालगायत सरोकारवालाले राजस्व संकलनमा मात्रै ध्यान दिएको तर बहुमूल्य जडिबुटी संकलनमा ध्यान नदिएको स्थानीय गोविन्द धामी बताउँछन् । यार्सागुम्बाको राजस्व र संकलन हुने रकमका लागि मात्रै लुँछाचुँडी हुँदा संरक्षणमा ध्यान नदिइएको उनले बताए ।

वनमा फोहोर बढ्नु, जथाभावी खनिनुलगायत कारणले उत्पादन घटेको कुरा अपिनाम्पा संरक्षण क्षेत्रका सूचना अधिकारी पेम्बा सेर्पाले समेत स्वीकार गरेका छन् । संरक्षणमा क्याम्प राखेर केही सुधारको प्रयास भए पनि अपुग भइरहेको भन्दै उनले आगामी दिनमा सुधार गर्दै जाने बताउँछन् ।

गत वर्षसम्म अपिनाम्पा संरक्षण क्षेत्रबाट वार्षिक झन्डै सात क्विन्टल यार्सागुम्बा निकासी हुने गरेको थियो । कार्यालयले यस वर्ष जिल्लाबाट आठ क्विन्टल यार्सागुम्बा ढुवानी गर्ने कार्ययोजना बनाएको थियो । तर, यस वर्ष हरेक क्षेत्रमा यार्सागुम्बा कमी भएको छ ।

जैविक विविधताको संरक्षण तथा स्थानीय समुदायको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्य राखेर स्थापना भएको अपिनाम्पा संरक्षण क्षेत्र केही सिमित नेता कार्यकर्ता पाल्ने कार्यालयको रूपमा परिचित छ । आठ वर्ष पहिले साबिकका २१ गाविसको १ हजार ९०३ वर्ग किलोमिटर क्षेत्रफलमा स्थापना गरिएको अपीनाम्पा संरक्षण क्षेत्र अनियमितताको भँगालोमा फसेको आरोप लाग्दै आएको छ ।