Indrenionline.com

रुकुम पूर्वमा बस दुर्घटना हुँदा नौ जना घाइते

रुकुम, ८ असार । रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा आज बिहान गाडी दुर्घटना भएको छ । दुर्घटनामा परी नौजना घाइते भएका छन् ।

रुकुम पुर्वको सदरमुकाम रुकुमकोटबाट दाङका लागि छुटेको ना ५ ख ४०१२ नम्बरको बस सदरमुकाम नजिकैको मङ्ग्रा भन्ने ठाउँमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका अनुसार, बसमा सवार यात्रुको संख्या यकिन हुन बाँकी रहेको र घाइते ९ जनाको जिल्ला जनस्वास्थ्य रुकुम पुर्वमा उपचार भइरहेको छ ।

घाइते हुनेहरुमा बाँके डुडुवा गाउँपालिका ५ का २५ वर्षीया सुभद्रा यरि, त्यसै स्थानकी ५५ वर्षीया पुतली खड्का, ३० वर्षीय अजित यरि, रोल्पा जिल्ला लिवाङ निवासी ३२ वर्षीय दिलिप कुमार पुन, रुकुम पश्चिम बाफिकोट गाउँपालिका ५ का २० बर्षका दिलिप देवकोटा रहेका छन् ।

त्यसैगरी, रुकुम पूर्व सिस्ने गाउँपालिकाका ४० वर्षका अम्बर थापा, त्यसै स्थानका ५१ वर्षीया सुधा कुमारी शर्मा, २३ वर्षका नारायण गौतम छन् । घाइते मध्ये एक जनाको विवरण खुल्न नसकेको प्रहरीले जनाएको छ । बिहान ६ बजे छुटेको बस १० मिनेट पछि सडकबाट करिब १५ मिटर तल खसेको हो ।