Indrenionline.com

आउने भयो चिनियाँ विद्युतीय र कार्गो रेल

बेइजिङ, ७ असार । ६ दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच विभिन्न १० वटा विषयमा सम्झौता गरेका छन् । आज बिहीबार बेइजिङको ग्रेट हल अफ द पिपुल्समा दुई देशका प्रतिनिधिबीच सम्झौता भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी ली खछ्याङबीच ग्रेट हल अफ पिपलमा प्रतिनिधिमण्डलस्तरीय वार्तापछि तिब्बतको केरुङबाट काठमाडौँसम्म रेलमार्ग निर्माणसहितका सम्झौता भएको छ ।

सम्झौतामा सबैभन्दा पहिले अहिले तिब्बतको सिगात्सेसम्म आएको विद्युतीय र कार्गो रेललाई सुरुमा रसुवागढीसँगैको केरुङसम्म ल्याउने सहमति भएको छ । त्यसपछि विद्युतीय र कार्गो रेललाई काठमाडौँसम्म पु्र्‍याउने सम्झौता पनि भएको छ।

रेलवे र कार्गो ढुवानीका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र चिनियाँ उप(विदेशमन्त्री कङ वान युबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। त्यसैगरी सिन्धुपाल्चोकको खासा र रसुवागढीमा दुई मैत्री पुल पुनर्निर्माण सम्झौतामा परराष्ट्र सचिव शंकरदास बैरागी र चिनियाँ उपविदेशमन्त्री कङबीच हस्ताक्षर भएको हो।