काठमाडौं, ४ असार। संस्थापनइतरका कांग्रेस जिल्ला सभापतिहरूले आफ्नै खेमाका नेतालाई एकताबद्ध भएर अघि बढ्न दबाब दिएका छन् ।
उनीहरूले निर्वाचनपछि पार्टी झनै कमजोर भएको र प्रतिपक्षमा रहँदाको भूमिकासमेत खस्किएको भन्दै जिम्मेवार बन्न आफ्नै नेतृत्वलाई सुझाए ।
राजधानीमा खबर छ कांग्रेस नेता दीपक गिरीले पार्टीले भोगिरहेको वर्तमान अवस्थाको सामना एक भएर नै गर्नुपर्ने भएकाले जिल्ला सभापतिको भेलाले पार्टीभित्रको आन्तरिक एकताका पक्षमा सन्देश दिन नेतृत्वलाई सुझाएको बताए ।
‘पार्टी कमजोर बनेको अवस्थामा एकताको सन्देश दिएर अघि बढ्नुपर्छ भन्ने सभापतिहरूको राय हो । बैठकमा त्यहीअनुसार अघि बढ्न धेरैको सुझाव आएको छ,’ नेता गिरीले राजधानीसँग भने । उनले बैठकमा सभापतिहरूले निर्वाचनका बेला केन्द्रले जिल्ला सभापतिहरूको अधिकार खोसेकोप्रति गुनासो पोखेको बताए ।बैठकमा सहभागी नेतृ सरिता प्रसाईंले हेटौंडामा हुने सभापतिहरूको भेलामा कसरी प्रस्तुत हुने भन्ने विषयमा उपलब्ध जिल्ला सभापतिहरूको राय लिएको बताइन् ।