चितवन, २९ जेठ । नेपालमा पूर्व–पश्चिम र उत्तर–दक्षिण जोड्ने गरी निर्माण गरिने दशवटा रेलमार्गको प्रक्रिया शुरू भएको छ । देशका विभिन्न ठाउँमा गरी १० ओटा रेलमार्गको प्रक्रिया अगाडि बढिरहेको रेल विभागका सिनियर डिभिजनल इञ्जिनीयर प्रकाश उपाध्यायले जानकारी दिए । उनका अनुसार कतिपय रेलमार्गको निर्माण भइरहेको छ भने कतिपयको डीपीआर तयार गर्ने र सम्भाव्यता अध्ययन गर्ने कार्य भइरहेको छ ।
यससँगै जोगवनी–विराटनगर १८ किमी रेलमार्गमध्ये ८० प्रतिशत रेलमार्ग निर्माण सम्पन्न भएको उनले जानकारी दिए । जयनगर–जनकपुर रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको र यो मार्गमा आउँदो वर्ष रेल गुडाउने तयारी गरिएको उनले बताए । जयनगर–बर्दिबाससम्मको तीन खण्डमा अहिले काम भइरहेको छ ।
जयनगरदेखि जनकपुर हुँदै कुर्तासम्मको ३५ किमीको कार्य आगामी अक्टोबरमा सम्पन्न भई रेल सञ्चालन गर्न सकिने उनले बताए । कुर्ताबाट विजयपुरसम्म आगामी आर्थिक वर्षभित्र सम्पूर्ण कार्य सम्पन्न हुनेछ । विजयपुरादेखि बर्दिबाससम्म जग्गा अधिग्रहणको कार्य भइरहेको छ ।
त्यसैगरी नौतुनवा–भैरहवा र रुपैडिया–नेपालगञ्ज रेलमार्गको सर्वे भइरहेको उनले बताए । जलपाइगुडी–काँकडभिट्टा ७० किमी रेलमार्ग अधिकांश भारतीय क्षेत्रमा पर्ने र २ किमीमात्रै नेपालमा पर्ने बताउँदै उनले भारतीय क्षेत्रमा कार्य भइरहेको जानकारी दिए ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मेची–महाकाली विद्युतीय रेलमार्गको काम पनि तीव्र गतिमा अगाडि बढाइएको छ । यो मार्गको डीपीआर र डिजाइन तयार पार्ने कार्य र निर्माण सँगसँगै अगाडि बढेको छ । आगामी नोभेम्बरसम्ममा डीपीआर तयार हुने उनले बताए ।
बुटवलभन्दा पश्चिमको गड्डाचौकीसम्मको डीपीआर तयार गर्ने कार्य भइरहेको छ । बुटवलपूर्वको डीपीआर तयार पार्ने कार्य सम्पन्न भए पनि चितवन राष्ट्रिय निकुञ्ज हुँदै जाने रेलमार्गलाई परिवर्तन गर्नुपर्ने भएकोले निजगढदेखि हेटौंडा–भरतपुर हुँदै नवलपरासीसम्मको डीपीआर र डिजाइन परिवर्तन गर्न लागिएको उनले जानकारी दिए ।
मेची–महाकाली रेलमार्गको बर्दिबासबाट पश्चिमतर्फ निर्माण भइरहेको उनले बताए । बर्दिबासदेखि लालबन्दीसम्मको सिभिल इञ्जिनीयरिङको स्ट्रक्चरलको कार्य प्रायः सम्पन्न भइसकेको छ । मेची–महाकाली रेलमार्गको लम्बाई ९ सय ४५ किमी हुनेछ । रेलमार्गमा पर्ने चुरे पहाडका ८ ठाउँमा सुरुङ मार्ग निर्माण गरिनेछ ।