रौतहट, २९ जेठ । रौतहटमा गोली प्रहार गरी एक बालकको हत्या गरिएको छ । गत शनिबार राति अपहरणमा परेका कटहरिया नगरपालिका–९ डुमरिया टोल निवासी स्वास्थ्यकर्मी अहेव दिलीप साहका १२ वर्षीय छोरा युवराज साहको शव गोली हानी हत्या गरिएको अवस्थामा फेला परेको हो ।
अपहरण र हत्या आरोपमा इलाका प्रहरी गरुडाले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटहरिया–९ डुमरिया टोल निवासी १९ वर्षीय शक्ति राय यादव, २० वर्षीय प्रवीण राय यादव, २० वर्षीय सुनीलकुमार यादव, वृन्दावन नगरपालिका आकरपाथरका १८ वर्षीय विनोदकुमार पटेल र २० वर्षीय रविकुमार पटेल रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अभियुक्तहरूको बयानबाटै बच्चाको शव फेला परेको प्रहरी निरीक्षक ओझाले जानकारी दिए । राजधानीमा खबर छ- पक्राउ परेका अपहरणकारीले बालकको परिवारसँग १ करोड रुपैयाँ फिरौती माग गरेको उनका आफन्तले बताउँदै आएका छन् ।
प्रारम्भिक अनुसन्धानअनुसार अपहरणपछि बालकको हत्या गरिएको भए पनि फिरौतीको विषयमा भने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका नायब उपरीक्षक रामकुमार दानीले बताए ।
बालकको हत्यापछि सो वडाका वडाध्यक्षको घरमा पीडित पक्षले सोमबार दिउँसो तोडफोड गरेका छन् । बालकलाई अपहरणपछि हत्या गरेको भन्दै पीडित पक्ष र आक्रोशित स्थानीयको समूहले वडाध्यक्ष रामाज्ञा यादवको घरमा तोडफोड गरेका हुन् ।