काठमाडौं, १९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा दुई उपप्रधानमन्त्री नियुक्त गर्दै चौथोपटक शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।ओलीले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी दिएका छन् ।
फोरम सहभागी भएपछि सरकारका पक्षमा दुई तिहाइ पुगेको छ ।
यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकल बहुमतको सरकार थियो । संघीय समाजवादी फोरमका तर्फबाट पार्टी अध्यक्ष यादवसहित मोहम्मद इस्तियाक राई पनि मन्त्रीमा थपिएका छन् । राईलाई सहरी विकासमन्त्रीको जिम्मेवारी दिइएको छ ।
नवनियुक्त दुई र जिम्मेवारी हेरफेर भएका उपप्रधान तथा मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ गराइन् । प्रधानमन्त्री ओलीले यसअघि उपप्रधानमन्त्री नबनाउने बताए पनि उपेन्द्र यादवलाई सरकारमा सहभागी गराउन उक्त जिम्मेवारी थप गरेका हुन् भने पोखरेलको पनि बढुवा गरे । ओलीको भारत भ्रमणका बेला पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको थियो । तत्कालीन माओवादी केन्द्रबाट सरकारको नेतृत्व गरेका गृहमन्त्री रामबहादुर थापाले उपप्रधानको पनि जिम्मेवारी माग गर्दा उपप्रधानमन्त्री नै नराख्ने बताइएको थियो ।
सञ्चार तथा सूचना प्रविधमन्त्री बाँस्कोटा यसअघि पार्टी केन्द्रीय सदस्य नभएकाले राज्यमन्त्रीको मात्र जिम्मेवारी दिइएको थियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकतापछि बाँस्कोटा केन्द्रीय सदस्य नियुक्त भएसँगै मन्त्रीको जिम्मेवारी तोकिएको हो ।
३ फागुनमा प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले १४ फागुनमा दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दै पोखरेल रक्षा, थापा गृह र मातृका यादवलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीका रूपमा नियुक्त गरेका थिए । ओलीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दै २ चैतमा ११ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गरेका थिए । २ मन्त्री थपिएपछि मन्त्रिमण्डल २४ सदस्यीय बनेको छ ।