काठमाडौं, १८ जेठ । नेकपामा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई अन्तरपार्टी जनवाद र अनुशासनका दृष्टिले सुदृढ एवं व्यवस्थित गर्न कुनै पनि प्रकारको गुटबन्दी र पक्षधरताका हानिकारक प्रवृत्तिहरू प्रकट हुन नपाउन् भनेर होसियार रहन निर्देशन दिए।
यसैगरी एकताको दुई सातापछि दुई अध्यक्षले पहिलो पटक लिखित रुपमा मातहतका कमिटी र जनसंगठनलाई अन्तरपार्टी निर्देशन जारी गरेका छन्। जनताका लागि समृद्ध जीवन र सामाजिक न्याय सुनिश्चित गर्ने र समाजवादका लागि भौतिक तथा सामाजिक आधार तयार गर्ने अनुकूल राजनीतिक परिस्थिति निर्माण भएकाले अब पार्टी एकताका बाँकी कार्यभार पूरा गर्न उनीहरुले अन्तरपार्टी निर्देशनमार्फत आह्वान गरेका हुन्।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच यही जेठ ३ गते एकता भई निर्वाचन आयोगमा दल दर्ता भएको थियो। पार्टीका केन्द्रीय सदस्य खिमलाल देवकाटाले नेकपाले निर्वाचन आयोगमा बुझाउनुपर्ने सबैजसो कागजात पेश गरिसकेकाले चाँडै आयोगबाट दल दर्ताको निर्णय आउने अपेक्षा गरिएको र अन्य सांगठनिक कार्य सुरु भएको बताए।
दुई ठूला कम्युनिष्ट पार्टीको एकतापछिको ऐतिहासिक कार्यभार, मातहतका कमिटीको एकता, ४४१ केन्द्रीय सदस्य, ४५ सदस्यीय स्थायी कमिटी र नौ सदस्यीय सचिवालयको विवरणसहित भावी कार्यदिशाबारे अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हस्ताक्षरमा सो अन्तरपार्टी निर्देशन–१ जारी भएको हो।