काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (बिमस्क) का महासचिव सहिदुल इस्लामले आज बिहान बालुवाटारमा शिष्टाचार भेट गरे ।
प्रधानमन्त्री ओलीले बिमस्टेक सञ्चालनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नु उपयुक्त हुने बताएको ओलीका निजी सचिवालयले जनाएको छ ।
केही समयभित्रै नेपालमा बिमस्टेकको सम्मेलन गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सम्मेलनबाट यस क्षेत्रका जनताका लागि फलदायी हुने कार्यक्रम ल्याउनु पर्ने बताए । प्रधानमन्त्री ओलीले बिमस्टेक नतिजामुखी हुनुपर्नेमा जोड दिँदै भने, “हामी आर्थिक सामाजिक विकासमा द्रुतगतिमा दौडनु पर्छ । बिमस्टेक यस प्रक्रियाप्रति प्रतिबद्ध छ । ”