इन्द्रेणी संवाददाता
काठमाडौं, ३ जेठ । लामो समयको गृहकार्यपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष दुबै पार्टीलाई भंग भएको घोषणा गर्दै नेपाल कम्युनिष्ट पार्टी बनेको घोषणा गरेका हुन् । नयाँ पार्टीमा सामूहिक रुपमा सपथ ग्रहण गर्दै ४४१ सदस्यीय नेपाल कम्युनिष्ट पार्टीको घोषणा भएको हो ।
एमाले(माओवादीले नेपाल कम्युनिष्ट पार्टीमा ४२१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरिसकेका छन् । त्यसैगरी ४५ सदस्यीय स्थायी समिति र ९ सदस्यीय सचिवालय पनि बनाइसकिएको छ ।
जसमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सहअध्यक्ष, झलनाथ खनाल र माधवकुमार नेपाल वरिष्ठ नेता, विष्णु पौडेल महासचिव र नारायणकाजी श्रेष्ठ प्रवक्ता तोकिएको छ । औपचारिक रुपमा भने वेलुका ५ बजेपछि पत्रकार सम्मेलनको आयोजना गरी पार्टी एकताको घोषणा गर्ने तयारी गरिएको छ ।