सिन्धुली, २ जेठ । जिल्लाको क्यानेश्वरकी सुस्त मनस्थिति अवस्थामा रहेकी एक १६ वर्षीया बालिकालाई दिल्लीमा १० हजार भारतीय रुपैयाँ जागिर लगाइदिने, मिठो खान लाउन दिने र गरगहना लगाउन पाउने भन्दै फकाइफुलाई सर्लाहीको नयाँरोडमा लगी होटलमा बन्धक बनाई सामूहिक करणी गरेको आरोपमा प्रहरीले दुई अभियुक्तलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले सोमबार पत्रकार सम्मेलन गरी पक्राउ परेका पीडकहरू दुवै जनालाई सार्वजनिक गरेको छ । प्रहरीका अनुसार पीडित परिवारले गत २९ वैशाखमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा लिखित जानकारी दिएको र ३० वैशाखमा रीतपूर्वक जाहेरी दर्ता गराएका छन् ।
पीडित बालिकाका बुबाका अनुसार उनीकी छोरीलाई हरिवन–१० धरहरा घर भएकी ३७ वर्षीया माया लोप्चन र उसको श्रीमान कुमार लोप्चनले गाउँमै आई ललाइफकाइ भारतमा जागिर लगाइदिन्छु भनी अपहरण गरी लगेको र हरिवन–१० मा लगी ज्ञानबहादुर थिङको जिम्मा लगाएका थिए ।
अभियुक्त ज्ञानबहादुरले विशालबाबा होटलमा लगी १७ देखि २५ वैशाखसम्म सामूहिक रूपमा दिनहुँ करणी गरेको र अन्य मानिसलाई समेत सो कार्य गर्न लगाएको प्रहरीले जनाएको छ ।
सामूहिक बलात्कारपछि पीडितको शारीरिक अवस्था कमजोर पाएपछि पीडकले होटलबाट निकालिदिएको र सडकमा अलपत्र अवस्थामा स्थानीय अर्थमान वाइबाले फेला पारी प्रहरीको जिम्मा लगाएको प्रहरीले जनाएको छ । नेपाली भाषासमेत बोल्न नजान्ने बालिका सुस्त मनस्थितिकी भएको र आफ्नो घर ठेगानासमेत बताउन नसक्ने पीडितकी आमाले बताइन् ।
बाबुलाई बन्धक बनाएको गुनासो
बालिकालाई बन्धक बनाई बलात्कार गरेको उजुरी दिन सर्लाहीको हरिवनस्थित इलाका प्रहरी कार्यालयमा पुगेका पीडितका बुबालाई त्यहाँका प्रहरी निरीक्षक राम थापाले नै दुई घण्टा बन्धक बनाएको पीडित पक्षको आरोप छ ।
२५ वैशाख रातिको समयमा बालिकालाई सडकमा घोप्टो परेर बसेको भेटेका अर्थमान वाइबाले इलाका प्रहरी कार्यालय हरिवनलाई जिम्मा लगाएका थिए । उनलाई प्रहरीको जिम्मा लगाएको थाहा पाएका पीडक कुमार मोक्तानले प्रहरी कार्यालयमा गई बालिकाको आफन्त भनी जिम्मा लिएर ट्र्याक्टर चढाएर घर पठाएका थिए ।
यता, छोरी बेच्न लगेर बलात्कार गरी सडकमा छोडेको र प्रहरीको जिम्मामा लगाएको थाहा पाई उजुरी दिन गएका पीडितका बुबालाई त्यहाँका प्रहरी अधिकृत रामकाजी थापाले कार्यालयमै बन्धक बनाई छोरीको बारेमा उजुरी नगर्न र क्यानेश्वर प्रहरी चौकीले पक्राउ गरेका पीडक माया लोप्चनलाई छोड्न दबाब दिएको पीडितको गुनासो छ ।
प्रहरी चौकी क्यानेश्वरले २६ वैशाखमा आरोपी मायालाई पक्राउ गरी अनुसन्धानमा राखेको थियो । छोरीको भनाइअनुसार उजुरी गर्न इलाका प्रहरी कार्यालय हरिवन पुगेका हरिहरपुरगढी गाउँपालिका–८ का वडाध्यक्ष सार्कीमान बम्जन, पीडितका बुुबा, क्यानेश्वर प्रहरी चौकीका असई र हवल्दारसहितलाई दबाब दिएपछि प्रहरी चौकी क्यानेश्वरले मायालाई छोडेको थियो । इलाका प्रहरी कार्यालय हरिवनका इन्स्पेक्टर थापाले कसैलाई पनि छोरीको विषयमा उजुरी नगर्ने सर्तमा कागज गराई बन्धकमुक्त बनाएको पीडितका बुवाले बताए ।