सल्यान, १ जेठ । सल्यान जिल्लाबाट चालू आर्थिक वर्षको नौ महिनामा मात्रै ७९ करोडभन्दा बढीको कृषिजन्य वस्तु निर्यात भएको छ ।
सल्यानका ३४ हजार बढी घरधुरीले परम्परागत निर्वाहमुखी कृषि पेशाका साथै आधुनिक र व्यावसायिक कृषि पेशालाई समेत अँगालेका हुन् । जिल्लामा उत्पादित फलफूल, तरकारी, खाद्यान्नबाली, नगदेबाली तथा बीउ जिल्लाबाहिर जाने गरेको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार तरकारी खेतीमा जिल्लाभर करीब ७ हजार ९ सय ७५ किसान संलग्न रहेका छन् । यस्तै, कोटमौला, कोटबारा, दमाचौर, पीपलनेटा, मार्के, सेजवालटाकुरा र कजेरीका करीब १ हजार किसान व्यावसायिक सुन्तला खेती गर्छन् ।