Indrenionline.com

सल्यानमा आलु प्रशोधन केन्द्रको अभाव

बुद्धिमान पुन
सल्यान, १ जेठ । आलुखेतीका लागि प्रशस्त सम्भावना बोकेको सल्यानको बागचौर नगरपालिका–११ र १२, बाफुखोलाका किसानले पूर्वाधारको अभावमा सोचेजति लाभ लिन नसकेको बताएका छन् । सो क्षेत्रमा आलु प्रशोधन केन्द्र नहुनु, सरकारी पक्षबाट कुनै सहयोग प्राप्त नहुनु र बजारीकरणलगायतका समस्याले व्यावसायिक रूपमा आलुखेती गर्न नसकेको अगुवा आलुकृषक चित्रबहादुर वलीले गुनासो गरे ।

विगत दुई दशकदेखि आलुखेती गर्दै आएका यहाँका किसान अझै सिँचाइको समस्या भोग्न बाध्य छन् । आलुको नयाँ बीउ नहुनु, आवश्यक तालीमको व्यवस्था नहुनुजस्ता समस्या रहेको बागचौर– १२ की आलुकृषक टिका केसीले जानकारी दिइन् । बाफुखोलाका ८ सय घरधूरीमध्ये अहिले यहाँका ६ सय परिवारले आलुखेती गर्दै आएका छन् । प्रतिपरिवारले वर्षमा एक सिजन गरिने खेतीबाट ५० क्विण्टल आलु उत्पादन गर्छन् ।

करीब ५ वर्षअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सो क्षेत्रमा आलु प्रशोधन केन्द्र स्थापना गर्ने घोषणा गरे पनि हालसम्म पूरा नभएको स्थानीयको भनाइ छ । अहिले स्थानीय तहमाज नप्रतिनिधि आइसकेपछि आलुखेतीलाई आधुनिक र व्यावसायिक बनाउन नयाँ योजनाका साथ अगाडि बढेको बागचौर नगरपालिका–१२ का वडाध्यक्ष दीपक वलीले बताए । उनले बाफुखोलामा आलु प्रशोधन केन्द्र स्थापना गर्न पहल गर्ने, सिँचाइको व्यवस्था गर्ने, आलुको नयाँ बीउको लागि पहल गर्ने, आलुखेतीलाई व्यावसायिक र आधुनिक बनाउन विभिन्न तालीमको व्यवस्था गर्ने लक्ष्य रहेको जानकारी दिए ।

बाफुखोलामा उत्पादित आलु दाङ, नेपालगञ्ज, पोखरा, बुटवललगायतका बजारमा निर्यात हुन्छ । यहाँबाट मात्रै वर्षेनि १५ करोडभन्दा बढी रुपैयाँको आलु निर्यात हुन्छ । अभियानमा खबर छ आलुखेतीको लागि पर्याप्त सम्भावना बोकेको यस क्षेत्रलाई कृषि र पर्यटनसँग जोड्न सके राम्रो हुने सरोकारवालाको सुझाव छ ।