काठमाडौं । सभामुख कृष्णबहादुर महरासँग बेलायतका सांसदहरुको टोलीले शिष्टाचार भेटवार्ता गरेको छ । ब्रिटिस ग्रुप अफ इन्टर पार्लियामेन्ट्री युनियन (बिजीआइपियू)का सदस्य तथा बेलायती सांसद नाइजेल इभान्स नेतृत्वको प्रतिनिधिमण्डलले आज (मंगलबार) सभामुख महरासँग भेटवार्ता गरेको हो ।
‘नेपाल र बेलायतको सम्बन्ध राजनीतिक स्तरमा मात्रै सीमित छैन, जनस्तरमा समेत रहेको छ, उनले भने, ‘जनता–जनताबीचको सम्बन्धले दुई देशको मित्रतालाई झनै गाढा र नजिकको बनाइदिएको छ ।’
बेलायतको संसदीय टोलीलाई स्वागत गर्न पाउँदा आफू निकै खुसी भएको भन्दै सभामुख महराले दुई देशबीचको संसदीय अनुभव आदान प्रदान गर्न भ्रमण फलदायी हुने आफूले विश्वास लिएको बताए ।
नयाँ संविधान निर्माणसँगै नेपालमा संघीय शासन प्रणालीको शुरु भएको बताउँदै सभामुख महराले बेलायती संसदीय प्रक्रिया, अभ्यास र अनुभव नेपालका लागि शिक्षा हुने बताए । ‘हामी संघीयताको अभ्यास गर्दैछौं, अहिले स्थानीय, प्रदेश र संघ गरी तीन तहका सरकार सञ्चालन गरिरहेका छौं, उनले भने, ‘बेलायत र नेपालको संसदीय प्रक्रिया उस्तै उस्तै भएकाले एक अर्काको अनुभव आदान प्रदानका साथै हामी बेलायतबाट सिक्न चाहन्छौं ।’