पर्सा, २४ वैशाख । पक्राउ गरिएका अभियुक्तलाई छुटाउन प्रहरी चौकी सेढवामा स्थानीयवासीले आक्रमण गर्दा चारजना सुरक्षाकर्मी घाइते भएका छन् । अभियुक्तलाई छुटाउन स्थानीय बासिन्दाले आज बिहान करीब ३ बजे प्रहरी चौकी सेढवानमा आक्रमण गर्दा तीनजना प्रहरी सहायक निरीक्षक र एकजना प्रहरी जवान घाइते भएका हुन् ।
घाइतेमध्ये खड्का र यादवको स्वास्थ्य अवस्था मध्यम रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रहरीलाई दुव्र्यवहार गरेको अभियोगमा पक्राउ परेका चारजना भारतीय नागरिक र चोरीको अभियोगमा पक्राउ परेका दुईजना नेपाली नागरिकलाई छुटाउन सेढवावासीले प्रहरी चौकीमा आक्रमण गरेको लिम्बूले बताउनुभयो ।
स्थानीयवासीले प्रहरी चौकीमा रहेका दुई थान मोटरसाइकलमा आगजनी गरेका छन् । उनीहरुले प्रहरीको वाहनमा समेत तोडफोड गरेपछि भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र केही राउण्ड हवाई फायर गरेको थियो । आक्रमणमा प्रहरी चौकीमा क्षति पुगेको छ ।
मादक पदार्थ सेवन गरी एउटै मोटरसाइकलमा सवार भई भारततर्फ गइरहेका चारजना भारतीयलाई आइतबार बेलुका प्रहरी चौकी महादेवपट्टिका सुरक्षाकर्मीले रोकी सोधपुछ गर्दा प्रहरीलाई नै हातपात गरेपछि उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि प्रहरी चौकी सेढवामा राखिएको थियो ।
यस्तै, चोरीको अभियोगमा सुवर्णपुरबाट पक्राउ गरिएका दुईजना अभियुक्तलाई समेत सोही चौकीमा राखिएको प्रहरीले जनाएको छ । चौकीमा रहेका छजना अभियुक्तलाई छुटाउन ढुङ्गामुडा तथा आगजनी गरिएको हो । रासस