बेइजिङ । विकासमा अब्बल मानिने चीनले समुद्रमाथि विश्वकै सबैभन्दा लामो पुल बनाउन सफल भएको छ । विश्वकै अहिलेसम्मको लामो यो पुलले हङकङ-झुहाई-मकाउलाई जोड्छ । यो पुल ५५ किलोमिटर (३४ माइल) लामो रहेको चीनको सरकारी पत्रिका साउथ चाइना मर्निङ्ग पोस्टले जनाएको छ।
यस पुललाई बनाउन इन्जिनियरहरुले सबैभन्दा पहिले यसको फेदमा ४ मानवनिर्मित द्वीप बनाएका थिए । यी द्वीपहरुमार्फत पुललाई समुद्र मुनिको जमिनमा जोडिएको छ । समुद्रको पिँधसम्म यस पुलको जग पुर्याइएपछि ठुला समुद्री लहर, समुद्री आँधी र तुफानमा पनि पुल नडगमगाई उभिइरहने छ ।
समाचार अनुसार पुलको निर्माणका क्रममा यसको एक भाग हङकङको व्यस्त एयरपोर्ट रहेको मार्गसँग जोडिएको थियो । यसलाई ध्यान दिँदै इन्जिनियरहरुले पुलको करिब ६.७ किलोमिटर लामो भागलाई सुरुङमार्फत समुद्रबाट ३० देखि ४० मिटर तलबाट जाने गरी बनाइएको छ ।
हरेक दिन ४० हजार सवारी
यस पुल सञ्चालनमा आएपछि झुहाईबाट हङकङबीच बीचको यात्राको समय तीन घन्टाबाट सीधै ३० मिनेटमा झरेको छ । हरेक दिन करिब ४० हजार सवारी यहाँबाट ओहोरदोहर गर्ने अनुमान गरिएको छ ।