काठमाडौँ, २३ वैशाख । सङ्घीय संसद्को बजेट अधिवेशन आज आइतबार सुरु हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बैठक बस्ने गरी अधिवेशन आह्वान गरेकी छन् । पहिलो अधिवेशन सकिएको करिब एक महिनापछि सङ्घीय संसद्को दोस्रो अधिवेशन सुरु हुन लागेको हो ।
प्रस्तावित कार्यसूचीअनुसार आइतबार अधिवेशन आह्वानका लागि राष्ट्रपति कार्यालयबाट प्रेसित पत्र पढेर सुनाइनेछ । यस्तै, अधिवेशन प्रारम्भमा सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गरिनेछ । पहिलो बैठकबाट सङ्घीय संसद्का दुवै सदनका नियमावली मस्यौदा समितिको म्याद थप गर्ने सम्भावित कार्यतालिका छ । संसद् अधिवेशन नभएको अवस्थामा सरकारले जारी गरेका विभिन्न चार अध्यादेश पनि पहिलो बैठकमै पेस हुनेछन् ।
तयारीअनुसार राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश राष्ट्रियसभामा पेस हुनेछ । अन्य तीन अध्यादेश आइतबार प्रतिनिधिसभामा पेस हुनेछन् । चिकित्सा शिक्षा अध्यादेश, बेपत्ता पारिएका व्यक्ति र सत्य निरूपण तथा मेलमिलाप आयोगको म्याद थपसम्बन्धी अध्यादेश तथा सङ्घीय संसद्का महासचिव र सचिवको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी अध्यादेश पनि प्रतिनिधिसभामा पेस हुनेछन् । संवैधानिक व्यवस्थाअनुसार अधिवेशन प्रारम्भ भएको ६० दिनभित्र अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पारित भइसक्नुपर्ने प्रावधान छ ।
‘जेठ १ मा नीति कार्यक्रम’
सङ्घीय संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार जेठ १ गते राष्ट्रपतिले सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्नै छन् । त्यसभन्दा अघि वैशाख २६ गते अर्थमन्त्रीले बजेटका सिद्धान्त र प्राथमिकता सदनमा पेस गर्ने छन् । सिद्धान्त र प्राथमिकतामाथि वैशाख २८ सम्म छलफल गर्ने तयारी गरिएको छ ।