काठमाडौंँ, १९ वैशाख । ३३ किलो सुनको अवैध कारोबार तथा भरिया सनम शाक्यको हत्या घटना सम्बन्धमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिवस लोहनी पनि तानिएका छन् ।
लोहनीसहित महाशाखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रजित केसी र सई बालकृष्ण सञ्जेलमाथि शाक्यको हत्या ढाकछोप गरेको आरोप लगाइएको छ । सुन तस्करी, हत्या र यसमा प्रहरीको संलग्नताका विषयमा सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति बनाएको छ ।
समितिको निर्देशनबमोजिम डीएसपी केसी र सई सञ्जेललाई पक्राउ गरी हिरासतमा राखिएको छ । समितिकै निर्देशनमा लोहनीमाथि पनि अनुसन्धान सुरु गरिएको हो । यही घटनामा पूर्वडीआइजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत, र प्रहरी जवान विष्णु खड्कालाई पनि हिरासतमा राखिएको छ ।