Indrenionline.com

दाङमा पनि भर्ना अभियान शुरु

दिपक बोहरा

दाङ ३ बैशाख । दाङमा पनि बिद्यार्थी भर्ना अभियान शुरु भएको छ । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुुल्क आधारभूत शिक्षा’ भन्ने मूल नाराका साथ दाङमा पनि आईतबार देखि भर्ना अभियान शुरु भएको हो । शैक्षिकसत्र २०७५ का लागि दाङका दशवटै स्थानीय तहमा एकैसाथ भर्ना अभियान शुरु भएको दाङका शिक्षा बिकास तथा समन्वय एकाई प्रमुख रमेश मैनालीले बताए । विद्यालय भन्दा बाहिर रहेका सबै बालवालिकालाई विद्यालयमा ल्याउन दाङमा पनि अभियान शुरु गरिएको एकाई प्रमुख मैनालीले बताए ।‘अझै पनि धेरै बालबालिका बिद्यालय बाहिर छन्,’ उनले भने ‘उनीहरुलाई बिद्यालयको पहुँचमा ल्याउन अभियान शुरु भएको छ ।’ दाङका सबै स्थानीय तहमा स्थानीय तहका प्रमुख, उपप्रमुख, शिक्षा शाखा प्रतिनिधि, वडाध्यक्षलगायत जनप्रतिनि तथा सरोकारवालाहरु भर्ना अभियानमा सहभागि भएको एकाई प्रमुख मैनालीले बताए ।

पहिलो चरणको अभियान बैशाख २ गते देखि १५ गते सम्म चल्ने छ, भने बैशाख १५ गते देखि दोस्रो चरणको अभियान सञ्चालन गर्ने एकाई प्रमुख मैनालीले बताए । पहिलो चरणमा बिद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने र दोस्रो चरणमा भर्ना हुन छुटेका बिद्यार्थीहरुलाई भर्ना गराउन पहल थाल्ने अभियान रहेको उनले बताए । दाङमा यस बर्ष कक्षा १ देखि ४ सम्म ४१ हजार ४ सय ६० बिद्यार्थी भर्ना गर्ने लक्ष्य रहेको बताए । त्यस्तै कक्षा ६ देखि ८ सम्म २९ हजार ८ सय ८६, कक्षा ९ देखि १० सम्म १६ हजार नौ सय ३० बिद्यार्थी भर्ना अभियान गर्ने लक्ष्य रहेको बताए ।

साथै दाङका अधिकांस बिद्यालयमा पाठ्यपुस्तक पु¥याईएको समेत एकाई प्रमुख मैनालीले बताए । उनका अनुसार माग गरेका सबै बिद्यालयमा पाठ्यपुस्तक पुगिसकेका छन् ।‘ माग गरेका सबै बिद्यालयमा पाठ्यपुस्तक पुगिसकेको छन्’ उनले भने ‘ तर माग नगरेका बिद्यालयमा भने पाठ्यपुस्तक पुगेका छैनन् ।’ सबै स्थानीय तहले मतहत भित्र रहेका बिद्यालयलाई पाठ्यपुस्तकका लागि ७५ प्रतिसत रकम पठाई सकेको उनले बताए । बिद्यार्थी बढि भएमा सम्बन्धित बिद्यालयले माग गरे अनुसार स्थानीय तहले बजेट निकासा गर्ने उनको भनाई छ ।

निःशुल्क पाठ्यपुस्तक वितरण गर्न सरकारले दुई अर्ब २२ करोड २२ लाख बजेट विनियोजन गरेको छ । शैक्षिक सत्र २०७४ मा देशभरबाट ९७.२ प्रतिशत विद्यार्थी भर्ना दर पु¥याईएको थियो भने यस बर्ष वृद्धि गर्ने लक्ष्य सरकारले लिएको छ । विभागका अनुसार ५ वर्षदेखि ९ वर्ष उमेर समूहका ८८ हजार २०७ बालबालिका अझै विद्यालय बाहिर रहेको र आधारभूत तह उमेर समूहका तीन लाख १३ हजार २८९ बालबालिका विद्यालय बाहिर रहेका छन् । प्राथमिक उमेर समूहको खुद भर्ना दर ९७.२ प्रतिशत र कक्षा १ देखि ९ सम्मको आधारभूत तहको खुद भर्ना दर ९२.३ प्रतिशत छ । सरकारले यसवर्ष खुद भर्ना दर शतप्रतिशत पु¥याउने लक्ष्य लिएको उपनिर्देशक अर्यालले जानकारी दिए ।