काठमाडौं, २ बैशाख । ३३ किलो सुन लुटपाट प्रकरणमा छानविनका लागि पक्राउ परेका नेपाल एयरलाईन्सका कर्मचारी प्रेमलाल चौधरीले प्रहरी हिरासत भित्रै आत्महत्या गरेका छन्। महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासत भित्र रहेको शौचालयमा शुक्रबार विहान पासो लगाएर आत्महत्या गरेका हुन्।चौधरी लामो समयदेखि एयरलाईन्समा लोडरको काम गर्दै आएका थिए। सुन लुटपाट घटनाको छानविन गर्न गठित समितिले चौधरी लगायत २१ जनालाई पक्राउ गरिसकेको छ।
समितिले घटना छानविनका लागि महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित कसी र सई बालकृष्ण सञ्जेललाई जिम्मेवारीबाट हटाईसकेको छ। म्हाशाखाले कार्यक्षेत्र भन्दा बाहिर गएर सुनका भरिया भनिएका मोरङका सनम शाक्यको शव बरामद गरेको थियो। तर सुनका मुख्य नाईके गोरे भन्ने चुडामणी उप्रेति भने अझै फरार छन्।
महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार शुक्रबार विहान पौन पाँच बजे चौधरी शौचालय छिरेका थिए। उनी लामो समय ननिस्किएपछि झुण्डिरहेको अवस्थामा फेला परेका थिए। उपचार गर्न वीरमा लगिएपनि सम्भव नभएको जानकारी थापाले दिए।
जुत्ताको तलुवा भित्र दुई किलो आठ सय ग्राम सुन
गृहमन्त्री राम बहादुर थापाले त्रिभुवन अन्तराष्टिय विमानस्थलबाट टनका टन सुन तस्करी भईरहेको अभिव्यक्ति सेलाउन नपाउँदै प्रहरीले विमानस्थलबाट झण्डै तीन किलो सुन बरामद गरेको छ। थाई एयरलाईन्सबाट काठमाडौं उत्रिएका दुई भारतीयले जुत्ताको तलुवा भित्र सुन लुकाएर ल्याएका थिए। विमानस्थल सुरक्षा गार्डका एसएसपी प्रेम चन्दले पक्राउ परेका भारतीय नागरिकमाथि छानविन भईरहेको बताए। उनले अनुसन्धानकै क्रममा रहेकाले नाम बताउन नमिल्ने बताए।