चितवन, २९ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबको बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने बताएका छन् ।
उनले दुई कार्यदलले तयार गरेको प्रतिवेदनमा खासै असहमति नभएको बताए । विधानमा केही छलफल गरेपछि टुंगो लाग्ने भन्दै उनले भने, “पार्टी एकता टुङ्ग्याउने समयमा एक दुई वटा विषयमा गहन छलफल होस् भन्ने चाहना हुन्छ, त्यो हामी टुङ्ग्याउँछौँ ।”
मिडियाबाट आएका कतिपय समाचार भ्रामक रहेको भन्दै उनले पार्टी एकताको गतिमा कुनै अवरोध नरहेको प्रष्ट्याए । नेपाली जनताले वामपन्थीबाट गरेको अपेक्षा सम्बोधन गर्ने गरी काम गरिने उनले बताए ।
जनताको अहिलेको अपेक्षा विकास निर्माणमा तीव्रता र अशान्ति एवं अराजकताको अन्त्य भएको भन्दै उनले त्यसको पक्षमा आफूहरु रहेको उल्लेख गरे । छिट्टै नीति तथा कार्यक्रम र नयाँ बजेट सरकारले ल्याउने भन्दै प्रचण्डले त्यसले विकास निर्माणमा नयाँ गति देओस् भनेर छलफल भइरहेको बताए । रासस