Indrenionline.com

सभामुख महरा भन्छन – “अब आफ्नै संसद भवन निर्माण गरिनेछ “

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले कानून निर्माणको काममा केन्द्रीत हुने बताएका छन्। सभामुख महराले कानून निर्माणका लागि आवश्यक विधेयक प्रतिनिधिसभामा पठाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरिएको पनि स्पष्ट पारे।

बुधबार सिंहदरबारमा संचारकर्मीमाझ उनले संवैधानिक व्यवस्था अनुसार असोज ३ गतेभित्र कानून निर्माण गर्नुपर्ने भएकाले सोही अनुसारको कार्ययोजना बनाएर आफू अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

सभामुख महराले कानून निर्माणको काममा केन्द्रीत हुन पनि सांसदहरूको गम्भीर ध्यानाकर्षण गराए। उनले कानून निर्माणमा भन्दापनि सरुवा, बढुवामा जनप्रतिनिधिहरू केन्द्रीत हुने गरेको गुनासो समेत गरे।

सभामुख महराले प्रतिनिधिसभालाई सबै विचारको अभिव्यक्ति गर्ने थलोको रूपमा विकास गर्ने योजना पनि अघि सारे। उनले २ वर्षभित्र संघीय संसदको भवन निर्माण हुने पनि बताए। भवन निर्माणका लागि सरकारले पनि उच्च प्राथमिकता दिएको उनको भनाइ छ। सेतोपाटीमा खबर छ ।

सरकारले सिंहदरबारस्थित पुतली बगैँचामा संघीय संसद भवन निर्माण गर्नेगरी आवश्यक तयारी गरेको छ। सभामुख महराले पुतली बगैँचामा रहेको सेनाको व्यारेक गृह मन्त्रालय पछाडिको खाली जग्गामा सार्ने विषयमा प्रधानसेनापतिसँग कुरा गरिएको पनि जानकारी दिए।

सभामुख महराले उत्कृष्ट समाचार सम्प्रेषण गर्ने संसदीय मामिलाका पत्रकारहरूलाई सम्मान गर्ने घोषणा पनि गरे। उनले आफूले माओवादी केन्द्रको साधारण सदस्य समेत नरहनेगरी सभामुख चयन भएलगत्तै राजीनामा दिएको पनि स्मरण गराए।