धनकुटा, २७ चैत । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले एमाले–माओवादीबीच बैशाख ९ गते नै पार्टी एकता गर्ने सम्पूर्ण प्रयास जारी रहेको बताएका छन् ।
अध्यक्ष प्रचण्डले स्थिरता र समृद्ध नेपाल निर्माणको अवसर सदुपयोग गर्न राष्ट्रिय एकताको लागि सबैलाई आह्वान गरे । ‘यस्तो अवसर सधैँ आउँदैन, देशभरि विभिन्न सशस्त्र र शान्तिपूर्ण आन्दोलनमा गरेका सङ्घर्षको प्रतिफल अहिले हामी स्थिर र समृद्ध नेपाल निर्माणको संघारमा छौँ’, उनले भने, ‘यो अवसर गुम्यो भने नेपाल निकै ठूलो दुर्घटनामा पर्छ, त्यसकारण हामीले राष्ट्रिय एकताको प्रदर्शन गरौँ, हामीले स्थायित्वको प्रदर्शन गरौँ ।’
अध्यक्ष प्रचण्डले देशलाई समृद्ध बनाउन चीन र भारतबाट रेल ल्याउने र मध्यपहाडि लोकमार्गलाई पूरा गर्ने तयारी गरिएको बताए । नेपालमै खानी उत्खनन् गरी उद्योग स्थापना गर्ने योजना बनिरहेको पनि प्रचण्डले खुलासा गरे ।