Indrenionline.com

बुढीगण्डकीमा थप विवाद हुन दिदैनौं : मन्त्री पुन

काठमाडौँ, २७ चैत । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि थप विवाद हुन नदिने बताएका छन् । उनले थप विवाद नहुने गरी उचित निर्णय समेत लिने दावी गरे ।

बुढीगण्डकीलाई विभिन्न कोणले अध्ययन गरिएको र सबैभन्दा बढी चासोका साथ हेरिएकोले यसको निर्माणको मोडालिटीका बारेमा चौतर्फी अध्ययन तथा अन्तक्र्रिया गरेर मात्र थप निर्णय लिने मन्त्री पुनले बताए ।

यो आयोजनालाई कसरी र कुन मोडालिटीमा निर्माण गर्ने भन्ने विषयमा मन्त्रालय ठोस निर्णयमा पुगिसकेको छैन । यसको निर्माण मोडालिटीमा म थप विवाद निम्ताउने पक्षमा छैन । विषय विज्ञ, स्थानीय समुदाय तथा अन्य सरोकारवालासँगको व्यापक छलफल र अन्तक्र्रिया पछि मात्र ठोस निर्णयमा पुगिन्छ, उनले भने ।

यस अघिको सरकारले नेपालले आफ्नै लगानीमा निर्माण गर्ने र त्यसका लागि नेपाल विद्युत् प्राधिकरणलाई निर्माणको जिम्मा दिने सैद्धान्तिक निर्णय गरेको थियो । राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित एक समितिले सरकारले आफ्नै स्रोतबाट निर्माण गर्न सकिने आधार पत्र पेश गरेको थियो । सोही आधारपत्रमा रहेर अघिल्लो सरकारले ९४ अर्ब रुपियाँ बराबर कोष खडा गर्ने निर्णय समेत गरेको थियो ।