बाँके, २६ चैत्र । प्रहरीले हिरासतमा शारिरीक तथा मानसिक यातना दिएको भन्दै बाँकेको भुजाईगाँउका एक युवकले आइतबार मुद्दा दायर गरेका छन् । भुजाईगाँउका भुविन थापाले यातनाको क्षतिपूर्तिबापत एक लाख रुपैयाँ क्षतिपूर्ति माग्दै बाँके जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।
कुटपिट तथा यातनामा संलग्न प्रहरी कर्मचारीहरुलाई प्रहरी नियमावली २०४९ बमोजिम हदैसम्मको कारवाहीको माग गरिएको छ । तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स)को कानूनी सहयोगमा मुद्दा दर्ता गरिएको थर्ड एलायन्सका नेपालगंज प्रमुख आलम खानले बताए ।
मोबाईल चोरीको अभियोगमा पक्राउ परेका थापालाई हिरासतमा दिइएको यातनाका कारण हिप पुरै निलडाप परेको छ भने हिडडुल गर्न समेत समस्या भएको छ भने यातनाका कारण, छाती, ढाड र खुट्टामा पनि चोट लागेको छ । मुद्दा दर्ता गराउन थर्ड एलायन्सका प्रमुख आलम खान र अधिवक्ता विश्वजीत तिवारी बाँके जिल्ला अदालत गएका थिए ।