बुटवल, २५ चैत । बुटवल ८ स्थित भाटभटेनी सुपर मार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ४ बजेदेखि शुरु भएको आगलागी झण्डै चार घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक केशवकुमार भट्टराइले जानकारी दिए ।
आगलागी भएको केहीबेरमा नै बुटवल उपमहानगरको दमकल घटनास्थल आए पनि भाटभटेनीका व्यवस्थापनका कर्मचारी नभेटिएपछि निकैबेर दमकलका कर्मचारी अलमलमा परेका थिए ।
बिहान मर्निङवाकमा निस्केका स्थानीयले भाटभटेनीमा आगोको मुस्लोदेखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागी बढ्दै गएपछि वरिपरिका स्थानीय बासिन्दासमेत त्रसित बनेका थिए ।
आगलागीबाट के–कति क्षति भयो भन्ने अहिलेसम्म कुनै तथ्यांक आएको छैन तर आगलागीबाट पाँचाँै तला र चौथो तलामा रहेको इलोट्रोनिक्स सामान जलेर पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट भएको क्षतिकाबारेमा आफू बुटवल बाहिर भएकाले अहिले नै कुनै अनुमान गर्न नसकिने र आगलागीको घटना कसरी भयो भन्नेमा समेत अहिले नै भन्न नसकिने सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले बताए ।