Indrenionline.com

अप्रिल २२ मा नेपाल नयाँ युगमा प्रवेश : प्रचण्ड

इन्द्रेणी संवाददाता
काठमाडौं, २२ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २२ अप्रीलकै दिन पार्टी एकता गर्ने सझदारी भएको बताए । प्रचण्ड निवास खुमलटारमा रौतहटका पार्टी कार्यकर्ताको पुनर्मिलन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकताको दिन नेपालबाट शान्ति, समृद्धि र एकताको सन्देश दिने योजना रहेको बताए ।

‘अहिले आन्तरिक तयारी गर्ने र प्रधानमन्त्री ओलीजी भारत भ्रमणबाट फर्केर आएपछि एकताको कुरा टुङ्गााएर २२ अप्रिलका दिन एकता गर्ने समझदारी बनेको छ’, अध्यक्ष प्रचण्डले भने, ‘त्यो दिन लाखौँ जनताको उपस्थितिमा नेपाल नयाँ युगतिर प्रवेश गरेको सन्देश दिन्छौं । २२ अप्रिलका दिन शान्ति, समृद्धि र एकताको सन्देश नेपाल र विश्वभरी दिने योजना छ ।’

कार्यदलले बुझाएको प्रतिवेदनमा उत्पीडित वर्गको मुक्तिका लागि जनयुद्धको ऐतिहासिक भूमिका रहेको कुरा उल्लेख रहेको जानकारी दिँदै उनले थपे ‘अब चुनाव चिन्ह र बराबरीको कुरा टुंगेपछि एकता हुन्छ ।’

रौतहटबाट दुई दर्जन कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । नवआगन्तुकहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले नयाँ पार्टीमा रुपान्तरित भएपछि देश र जनताका धेरै समस्या समाधान हुने भएकाले अब निरास नहुन आग्रह पनि गरे ।