Indrenionline.com

एकतामा दुवै पार्टीको सहज बाटो खोज्दैछौं : प्रचण्ड

काठमाडौं, २१ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले–माओवादी दुवै पार्टीलाई सहज हुने गरी पार्टी एकता टुंगाउने तयारी भइरहेको बताएका छन् ।
बुधबार बिहान माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दुवै पार्टीलाई सहज हुने गरी पार्टी एकता टुंगाउने तयारी भइरहेको बताएका हुन् ।

बैठकमा प्रचण्डले भने, ‘पार्टी एकता प्रक्रिया सहज ढंगले अघि बढिरहेको छ । हिजो मात्र हामीले राजनीतिक प्रतिवेदन र विधान मस्यौदा कार्यदलको रिपोर्ट बुझेका छौं । दुवै पार्टीलाई सहज हुने गरी एकता टुंगाउन हामी लागिरहेका छौं ।’ अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन मस्यौदा समितिको प्रतिवेदनमा दुवै पार्टीको मतऐक्य रहेको बताए ।

‘मस्यौदा समितिले एकताको साझा प्रतिवेदन बुझाएको छ, त्यसमा हामी एकमत छौं । विधानका केही कुरामा साझा धारणा बन्न बाँकी छ, त्यसलाई एकता संयोजन समितिको बैठकमा टुंगो लगाउँछौं’, प्रचण्डले भने ।

‘भित्र र बाहिर दुवैतिरबाट एकता हुन नदिन चलखेलहरु भएका छन् । तर, त्यसले एकता रोक्न सक्दैन’, अध्यक्ष प्रचण्डले भने, ‘तपाई सांसदहरुले पनि सचेत ढंगले एकताको पक्षमा भूमिका खेल्नुहोला । चलखेलबाट प्रभावित नभई एकतालाई टुंगोमा पुग्ने गरी आफ्नो ठाउँबाट भूमिका खेल्नुस् ।’

अध्यक्ष प्रचण्डले केन्द्रमा सह–अध्यक्षको मोडलमा जाने सहमति भए पनि प्रदेश, जिल्ला र स्थानीय तहमा कुन मोडेलमा जाने भन्ने विषयमा ठोस निष्कर्षमा नपुगिएको बैठकलाई जानकारी गराएका थिए ।