भैरहवा, १९ चैत । भारतीय सीमावर्ती बजार सुनौलीमा बर्डफ्लुको संक्रमण देखिएपछि नेपाली भूमिमा पनि त्रास बढेको छ । बर्डफ्लुको जोखिम बढेको भन्दै नेपाली भूमिमा सतर्कता अपनाउन थालिएको छ ।
खुला सिमानाका कारण अवैध रूपमा कुखुरा, कुखुराको चल्ला र अन्डा तस्करी हुँदा जिल्लामा बर्डफ्लुको संक्रमण फैलन सक्ने भन्दै उच्च सतर्कता अपनाउन थालिएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए । सीमापारि बर्डफ्लुको प्रकोप देखिए पनि हालसम्म जिल्लामा भने त्यस्तो कुनै प्रकोप देखिएको छैन । तर, रूपन्देहीमा बर्डफ्लुको उच्च जोखिम रहेकाले उच्च सतर्कता अपनाउन थालिएको हो ।
बर्डफ्लु एभियन इन्फ्लुएन्जा भाइरसको छोटकरी रूप हो । एसियाका विभिन्न देशमा भेटिएको यो भाइरसको पूरा नाम हाइली प्याथोजोनिक एभियन इन्फ्लुएन्जा अर्थात् एचफाइभ एनवान हो । बर्डफ्लु कुखुरा र पक्षीहरूमा लाग्ने अतिसंक्रामक रोग हो । यो जतिबेला जहाँ पनि फैलन सक्छ । राजधानीमा खबर छ यो रोग लाग्दा कुखुराको टाउको सुन्निनुका साथै ¥याल आउने, पन्जामा रातो तथा नीलो हुन्छ । साथै एकैपटक धेरै कुखुरा मर्नु यसको लक्षण रहेको जिल्ला पशु सेवा कार्यालय रूपन्देहीका वरिष्ठ पशु चिकित्सक डा। विनयकुमार कर्णले बताए । उनका अनुसार बर्डफ्लुका किटाणु कुखुराको श्वासनली र फोक्सोमा हुन्छ ।
प्रभावित क्षेत्रको तीन किलोमिटरसम्म बर्डफ्लुको प्रकोप फैलिन्छ । प्रकोप फैलिएको भारतको सुनौली नेपालको तीन किलोमिटर क्षेत्रभित्र पर्छ । यसले गर्दा बेलहिया भन्सार नाका सघन निगरानी क्षेत्रभित्र राख्नुपर्ने पशु चिकित्सकहरूको भनाइ छ । २०६७ सालमा बर्डफ्लुको प्रकोप फैलिएपछि नेपाल सरकारले भारतबाट पशुपक्षीजन्य आयातमा रोक लगाएको थियो । तर, खुला सीमाका कारण अवैध तस्करी रोकिएको छैन । जिल्लामा भैरहवा, पजरकट्टी, भगवानपुर, देवदह, धकधई, मर्चवार, लुम्बिनी, गजेडी, बुटवललगायतका क्षेत्र बर्डफ्लुको उच्च जोखिममा छन् । चालू आर्थिक वर्षमा पशु क्वारेन्टाइनले नेपाल ल्याउँदै गरेका ७ लाख ३१ हजार ६ सय मूल्यबराबरको कुखुरा नियन्त्रणमा लिई नष्ट गरिसकेको छ ।