इन्द्रेणी संवाददाता
समृद्धिका लागि सँगसँगै भन्ने मुल नाराका साथ सुशासन महाअभियानको घोषना सभा आज राजधानीमा सम्पन्न भएको छ । देशमा बढ्दै गइरहेको गैर कानुनी गतिविधि र त्यसले निर्माण गरेको संस्कारका कारण मुलूक असफल राष्ट्रतर्फ उन्मूख भइरहेको वर्तमान अवस्थालाई गम्भिरताका साथ मनन गरी समाजमा रहेका सबैखाले विभेद र असमानता, स्थापित भ्रष्टाचार र अनियमितताको नियमितता, वैदेशिक हस्तक्षेप, अलोकतान्त्रिक र शान्तिमा खलल पु¥याउने गतिविधिको भण्डाफोर गर्दै सुशासनयुक्त सम्वृद्ध देश निर्माणका लागि महाअभियान गठन गरिएको घोषणा सभाका वक्ताहरुले बताएका छन् ।
कार्यक्रमका मुख्य केन्द्रका रुपमा रहेका महाअभियानका अध्यक्ष प्रकाश विकल्पले सिमित वर्गको हातमा सिमित राज्यका स्रोत–साधन र शक्तिका साथै नीति, नियम र अधिकारहरुलाई नागरिकको स्वामित्वमा फर्काउन सबै रंगीविरंगी दृष्टिकोण भन्दा माथि उठी देश निर्माणको पक्षमा नागरिक स्तरबाट हस्तक्षेपकारी भूमिका खेल्दै निर्णायक दबाबमार्फत् निश्चित समयमा विकास र समृद्धि हासिल गर्न देशमा पहिलो पटक ऐतिहासिक स्वतन्त्र नागरिक आन्दोलनका रुपमा सुशासन महाअभियान गठन गरिएको बताउनुभयो ।
राष्ट्रिय एकता र स्वाधिनता सहित पूर्ण सुशासन मार्फत् समृद्धि हासिल गर्न सशक्त रुपमा निर्णायक आन्दोलन तथा अभियानहरु सञ्चालन गरी सबै प्रकृतिका समस्याहरुको बैज्ञानिक ढंगले हल गर्न राज्यलाई परिणाममूखी दबाब र्सिजना गरी गतिशिल सोच र मानसिक पुर्नंसंरचनाको अपरिहार्यतालाई पूरा गर्न सभ्य, इमान्दार, नैतिकवान, कर्तव्य निष्ठ, परिश्रमी र राष्ट्रबादी जनमत निर्माण गर्नु यस महाअभियानको उद्देश्य रहेको बताउदै आफुलाई नागरीक स्तरबाट साथ र समर्थन रहने बताउनुभयो । कार्यक्रममा गायक एवम् संगीतकार सन्तोष रजौरेले देशभक्ति गीत प्रस्तुत गर्नुभएको थियो ।