ताइवान, १३ चैत । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले विभिन्न देशका मेयरहरुलाई विकासमा साझेदारी गर्न आग्रह गरेका छन् । तुलसीपुर उपमहानगरमा विभिन्न विकासका सम्भावना भएकाले त्यसलाई आधुनिक शहरको स्वरुप दिनका लागि सवैले साथ दिनुपर्ने वताएका छन् ।
प्राकृतिक रुपले सम्पन्न हुनुका साथै भौगोलिक रुपमा समेत धेरै सम्भावना भएको ठाउँ भएको वताउँदै उनले मेयरहरुलाई तुलसीपुरका वारेमा जानकारी समेत गराएको तुलसीपुर उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त विवश आचार्यले जानकारी दिएका छन् ।
विश्वभरमा रहेका ५३ देशबाट १ सय ५० वढि मेयरहरुले कार्यक्रममा सहभागिता जनाएका थिए । स्मार्ट सिटीका रुपमा विकसित भइसकेको ताइपेइ नगरको आयोजनामा भएको कार्यक्रम ३ दिन सम्म चल्नेछ । कार्यक्रममा स्मार्ट सिटीको अवधारणका साथै नयाँ शहरहरुलाई कसरी स्मार्ट सिटी वनाउन सकिन्छ भन्ने विषयमा छलफल र अन्तक्र्रिया हुनेछ ।
सम्मेलनमा तुलसीपुर उपमहानगरपालिकाबाट मेयर पाण्डेसँगै वडा नम्वर ६ का अध्यक्ष नवराज लामिछाने, वडा नम्वर ७ का अध्यक्ष टोपवहादुर केसी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावत र तुलसीपुर उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त विवश आचार्यको सहभागिता रहेको छ । ।