काठमाडौं, १३ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले एमाले–माओवादी एकताबाट बन्ने नयाँ पार्टीको विचार र कार्यदिशा पनि नयाँ हुने बताउनु भएको छ । सोमबार भक्तपुरमा अखिल (क्रान्तिकारी) का केन्द्रीय प्रशिक्षकहरुलाई प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले नयाँ विचार र कार्यदिशा बन्ने बताउनु भएको हो ।
‘हिजो सामन्तवादका विरुद्ध मदन भण्डारीले जनताको बहुदलीय जनवाद र हामीले २१ औँ शताव्दीको जनवाद भन्यौं । उहाँहरु शान्तिपूर्ण राजनीतिमा लाग्नुभयो, हामी जनयुद्धमा लाग्यौं’, अध्यक्ष प्रचण्डले भन्नुभयो ‘अब एकीकृत पार्टीको रणनीति र कार्यदिशा पनि विकसित हुन्छ, त्यो समाजवादी रणनीतिमा आधारित हुन्छ ।’
अध्यक्ष प्रचण्डले अब कुनै देशको नक्कल नभई नेपालको आफ्नै मौलिकतामा समाजवादी क्रान्ति हुने बताउनु भयो । ‘नेपालमा हाम्रै तरीकाले समाजवाद ल्याउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘शान्तिपूर्ण तरीकाले राज्यमा हस्तक्षेप गरेर समाजवादको आधार निर्माण गर्ने गरी अगाडि बढ्ने समझदारीमा पुगेका छौं ।’
‘आजको राजनीतिक परिवर्तन माओवादी आन्दोलन र विचारका कारण मात्रै भएको हो, अरुको सहायक भूमिका छ’ उहाँले भन्नुभयो, ‘एमालेको संसदीय संघर्षले पनि परिवर्तनको आन्दोलनमा सकारात्मक भूमिका खेलेको छ ।’
‘केहीलाई संसोधनवादीसँग एकता किन भन्ने पनि लागेको छ । तर, बामपन्थी तालमेल र पार्टी एकताको प्रस्ताव मैले नै राखेको हुँ’ प्रचण्डले भन्नुभयो, ‘राष्ट्रिय पुँजी, स्थायित्व र समाजवादको कुरामा समान तहमा पुगेका छाँै भनेपछि एकता नै गर्नु वैज्ञानिक ठानेर मैले एकताको प्रस्ताव गरेको हुँ ।’
‘एमालेभित्र छुट्याउने नसकिने गरी माओवादी र माओवादीभित्र छुट्याउनै नसकिने गरी एमाले अन्तरघुलन भइसकेको छ’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अराजकतावादी व्यक्तिवाद र संकीर्ण जडसूत्रवादले समाजमा भ्रम छर्छ, त्यसका विरुद्ध लड्दै पार्टी एकता सफल पार्नुपर्छ ।’
