आरा, बिहार । बिहारमा एकजना पत्रकारको हत्या भएको छ । दैनिक भास्करका पत्रकार नवीन निश्चल उनका साथीको आइतबार राती जीपले कुल्चेर हत्या गरिएको हो । रामनवमीको जुलुसबाट घर फर्किरहेको बेला ३६ वर्षीय निश्चल र २६ वर्षीय उनका साथी विजय सिंहको हत्या भएको हो । दैनिक भास्करका अनुसार, गडहनी गाउँका पूर्व मुखियाले हत्याको षडयन्त्र गरेका हुन । जीपमा पूर्व मुखिया मोहम्मद हरसु आफ्ना छोरासहित रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन ।
पूर्व मुखियासँग नवीनको आइतबार बजारमा विवाद भएको थियो । त्यहीँ मुखिया हरसुले परिणाम ठीक नहुने धम्की दिएका थिए । राती करिब ८ बजे गडहनीको एउटा पुलमा निश्चल र उनका साथी हिँडिरहेको बेला पछाडिबाट आएको जीपले कुल्चेर दुबैको हत्या गरेको थियो । त्यसपछि क्रुद्द बनेका स्थानीयवासीले जीपमा आगो लगाएका छन् ।
भोजुपरका एसपी अवकास कुमारका अनुसार, प्रहरीले मुखिया हरसुको घरमा छापा मारेपनि बाउ छोरा दुबै वेपत्ता बनेका छन् । पूर्व मुखियाका छोरा पीरो दंगा गरेको आरोपमा हालैमात्र जेलबाट छुटेको थियो । एभरेष्ट दैनिकमा समाचार छ । २०१५ सालदेखि दैनिक भास्करसँग जोडिएका पत्रका निश्चलको हत्यारमाथि कडा कार्वाही गर्न स्थानीयले माग गरेका छन् ।
