रोल्पा, ५ चैत । रोल्पाका ५० प्रतिशत महिलाले घरमै बच्चा जन्माउने गरेको पाइएको छ। मातृ तथा बाल मृत्युदरमा कमी ल्याउने भन्दै सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको भए पनि रोल्पामा अझै पनि ५० प्रतिशतभन्दा बढी महिलाले घरमै बच्चा जन्माउने गरेका हुन्।
नियमित गर्भ जाँच नगराएकै कारण गत वर्ष जिल्लामा ३५ मृत शिशु जन्मिएको र २८ शिशुको जन्मेको एक महिना भित्रै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य अधिकृत डा। तेजेन्द्र साउदले जानकारी दिए। गर्भ जाँचका लागि पहिलोपटक अस्पताल आएका महिला लाजका कारण दोश्रोपटकबाट नआउने गरेका साउदले बताए।
स्वास्थ्य संस्थामा गएर प्रसूति गराउँदा सुरक्षित भइन्छ भन्ने चेतनाको अभावका कारण पनि ठूलो संख्याका गर्भवतीले घरमै बच्चा जन्माउने गरेको डा। साउदको भनाइ छ। “सानै उमेरमा विवाह गर्ने तथा छिट्टै गर्भवती हुँदा स्वास्थ्य संस्थामा मुख देखाउन लाज मान्छन्”, साउदले भने। जिल्लामा जटिल प्रसूति सेवा पनि सञ्चालनमा रहेको छ। जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार गत वर्ष २५ जना महिलाले यो सेवा लिएका छन्।
भौगोलिक विकटता, गरिबी, चेतनाको अभाव र पारिवारिक बोझका कारण सबै गर्भवती प्रसूतिका लागि स्वास्थ्य संस्थासम्म पुग्न नसकेको डाक्टरहरु बताउँछन्। सरकारले रोल्पा जिल्लाका साबिकका सबै गाविसमा रहेका स्वास्थ्य संस्थामा प्रसूति गृह सञ्चालनमा ल्याएको छ। रासस
