काठमाडौं, २ चैत । संसदीय दलको विधानमा नै छायाँ सरकारको प्रावधान राखेको कांग्रेसले आगामी केन्द्रीय समिति बैठकलगत्तै छाया सरकार गठन गर्ने भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट दोस्रो दल बनेको कांग्रेसले सरकारका गतिविधिलाई निगरानी गर्दै संसद्लाई प्रभावकारी बनाउन छाया सरकार गठन गर्ने तयारी गरेको हो ।
कांग्रेसले बनाउने छाया सरकारमा क्याबिनेटमा रहने मन्त्रालय र मन्त्रीबराबरकै मन्त्री रहनेसमेत खाँडले जानकारी दिए । ‘क्याबिनेटमा जति मन्त्रालय र मन्त्री रहन्छन्, त्यति नै बराबर छाया सरकारमा समेत मन्त्री तोकिन्छन्, मन्त्रीका सहयोगी सदस्यसमेत रहनेगरी कामको जिम्मेवारी दिइन्छ,’ खाँडले भने ।
नेता भीमसेनदास प्रधानले छाया सरकारको नेतृत्वमा दलको नेता आफैं प्रधानमन्त्री रहने र प्रधानमन्त्रीले नै सम्बन्धित मन्त्रालयको विज्ञताको आधारमा मन्त्रीको जिम्मेवारी दिने जानकारी दिए ।
‘छाया सरकारको प्रधानमन्त्री दलको नेता नै हो, प्रधानमन्त्रीले नै अन्य मन्त्रीलाई विज्ञताका आधारमा जिम्मेवारी दिने हो,’ प्रधानले भने । कांग्रेसले छाया सरकारमार्फत मन्त्रालयगत कामको निगरानी, निर्णय, संवैधानिक पद्धति, प्रक्रिया र जन आकांक्षालाई ध्यानमा राखेर काम गर्नेसमेत बताइएको छ ।
कांग्रेसले बहुमत प्राप्त दलको नेता सरकारमा र प्रतिपक्षी दलको नेता आउने सरकारको प्रधानमन्त्रीका रूपमा रहनेगरी छाया सरकारको अवधारणालाई अघि सारेको नेताहरूले बताएका हुन् । राजधानीमा खबर छ कांग्रेसले प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनमा आफ्ना तर्फबाट निर्वाचित भएका सांसदहरूलाई एकठाउँ राखेर विधानमा नै छाया सरकारको प्रावधान राख्ने निर्णय गरेको थियो ।