काठमाडौँ, २८ फागुन २८ गते । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपरान्ह १४ः१८ बजे भएको युएस बंगलादेश एयरलाइन्सको विमानमा ३३ नेपाली सवार रहेको जनाएको छ । प्राधिकरणका अनुसार उक्त विमानमा चार चालक दलका सदस्यसहित ६७ यात्रु सवार रहेका थिए ।
विमानस्थलमा उद्धार तथा अग्नि नियन्त्रकद्वारा आगो नियन्त्रणमा लिने भइरहेको छ र उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतको उद्धार टोली परिचालित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले उद्धार कार्यको निरीक्षण गर्दै आवश्यक निर्देशन दिनुभएको छ ।
घाइतेको केएमसी अस्पताल सिनामंगल र नर्भिक अस्पताल, थापाथलीमा उपचार भइरहेको बुझिएको छ । विमान दुर्घटनामा परी निधन भएकाहरुको विवरण आउन बाँकी छ ।
बन्द विमानस्थल खुला
युएस बंगलादेश एयरलाइन्स दुर्घटनाका कारण आज बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । आज अपराह्न १४।१८ बजेदेखि बन्द भएको विमानस्थल १६।५० देखि खुलेको हो नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताउनुभयो । काठमाडौँमा अवतरणका तयारीमा रहेका विमानलाई लखनौ र ढाकातर्फ पठाइएको थियो । विमानस्थल खुलेपछि ती विमान काठमाडौँमा अवतरण हुनेछन् । ढाकाबाट काठमाडौँ आउँदै आएको बिएस २११ ‘कल साइन’ भएको उक्त विमानमा चालक दलका चार सदस्यसहित ६७ यात्रु सवार थिए ।
प्रधानमन्त्री अस्पतालमा
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा केएमसी अस्पताल सिनामङ्गल पुगी विमान दुर्घटनामा परी घाइते भएका यात्रुको अवस्थाका बारेमा जानकारी लिनुभएको छ । प्रधानमन्त्री ओलीले घाइतेको उपचारमा कुनै पनि कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको छ
।
दुर्घटनाको छानविन गर्न तत्काल आयोग गठन हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले युएस बंगलाको विमान दुर्घटनाका सम्बन्धमा सरकारले तत्काल छानविन आयोग गठन गर्ने जानकारी दिनुभएको छ ।
दुर्घटनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घटनाको अवस्था बुझ्न पुग्नुभएका प्रधानमन्त्री ओलीले सञ्चारकर्मीसँग सरकारले उद्धार र अन्य कामका लागि गर्नुपर्ने सबै प्रबन्ध गर्ने बताउँदै घटनाको छानविनका लागि तत्काल आयोग गठन हुने जानकारी दिनुभयो ।
उहाँले दुर्घटनामा घाइतेको उपचारको सबै प्रबन्ध नेपाल सरकारले गर्ने पनि बताउनुभयो । घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले मृतक परिवारप्रति समवेदना व्यक्त गर्नुभयो ।
उद्धारमा तदारुकताका साथ खटिएका नेपाली सेनालगायत कर्मचारीको प्रशंसा गर्दै उहाँले घटनाबारे जानकारी दिन बंगलादेशका प्रधानमन्त्रीलाई सम्पर्क गर्न खोजेको तर, उहाँ मुलुक बाहिर रहेकाले सम्पर्क हुन नसकेको पनि बताउनुभयो ।