Indrenionline.com

सभामुख महरालाई चीनको बधाई

काठमाडौँ, २८ फागुन । चाइना नेसनल पिपुल काँग्रेसका स्थायी समिति अध्यक्ष झ्याङ देज्याङले सभामुख कृष्णबहादुर महरालाई  बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।

अध्यक्ष झ्याङले सभामुख महरालाई पत्र पठाएर प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचत हुनुभएकामा बधाई व्यक्त गर्नुभएको सभामुख महराका सहयोगी राहुल महराले जानकारी दिए ।
चिनियाँ राजदूत यु होङले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज सभामुख महरालाई शिष्टाचार भेट गरी स्थायी समितिका अध्यक्ष झ्याङको शुभकामना पत्र हस्तान्तरण गरेका हुन् ।

सो भेटमा उनीहरुबीच नेपाल–चीनबीचको सम्बन्धलाई अझ सुदृढ गर्दै लैजाने विषयमा छलफलसमेत भएको थियो । भेटमा दुई देशका आपसी चासो र हितका विषयलाई सौहाद्रपूर्वक अघि बढाउने र आगामी दिनमा द्विपक्षीय सहयोगलाई अझ विस्तार गर्दै लैजाने विषयमा कुराकानी भएको थियो ।

सो अवसरमा सभामुख महरा र राजदूत युबीच दुई देशबीचको संसदीय अनुभवलाई आदानप्रदान गर्दै अगाडि बढ्ने र दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचारविमर्श भएको थियो ।