Indrenionline.com

व्यवसायिक बाख्रापालन तालिम शुरु

सल्यान, २२ फागुन । सल्यानको कपुरकोट गाउँपालिकाले बाख्रापालन पेशालाई व्यवसायिक बनाउन मंगलबारदेखि तालिम शुरु गरेको छ । वडा नम्बर १, २ र ३ का किसानहरुलाइ कसरी व्यवसायिक बन्ने भन्ने बारेमा तीनदिने तालिम शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

तालिममा साविकको रीम र सारपानी गर्पा गाविसका ३० जना किसान सहभागी छन् । तालिमको उद्घाटन गर्दै कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले बाख्रापालनमा संलग्न कृषकहरुलाई सिप र ज्ञान दिने उद्देश्यले तालिमको आयोजना गरिएको बताए ।

अझै पनि बाख्रापालन निर्वाहमुखी रहेको र कृषकहरूमा व्यावसायिक बाख्रापालन सम्बन्धी थोरैमात्र ज्ञान हुनुले यो व्यवसायलाई आशातित हिसाबले अगाडि बढाउन नसकिरहेको अवस्था रहेको उनले बताए ।

तीन दिनसम्म चल्ने तालिममा बाख्राको खोर व्यवस्थापन, आहारा, प्रजनन, रेकर्ड किपिङ, पशु स्वास्थ्य, उपचार तथा बजारिकरणका बारेमा प्रशिक्षण दिइने कपुरकोट पशु सेवा शाखाका पशु चिकित्सक कमल कुशुम आचार्यले बताए ।