उदय बीसी
दाङ, २१ फागुन । दाङमा मौरीपालक किसानहरुले वर्षेनी हजारौं घार मौरी चरिचरणका लागि ल्याउने गर्दछन् । छिमेकी जिल्ला चितवन, कपिलवस्तु, रुपन्देहीलगायतका जिल्लाहरुबाट चरिचरणका लागि मौरी ल्याउने गरिन्छ ।
पछिल्लो तथ्याङकलाई हुर्ने हो भने जिल्लामा ६ सयभन्दा वढी किसानहरुले व्यवसायिक रुपमा मौरीपालन गर्दै आएको र वार्षिक रुपमा तीन सय मेट्रिक टन भन्दा वढी मह उत्पादन भएको पाइन्छ । व्यसायिक रुपमा मौरीपालन गरेको एउटा किसानले कम्तीमा पनि ५० घारभन्दा वढी मौरीपालन गरेको मौरीपालन व्यवसायी संघ दाङका पूर्वसचिव एवं विगत करीव १६ वर्षदेखि व्यवसायिक रुपमा मौरीपालन गर्दै आएका किसान दीपकुमार वुढाले बताए । ‘मैले मौरी पाल्न शुरु गर्दा यो काम गरेको म मात्रै जस्तो लाग्थ्यो’, उनले भने, ‘तर अहिले हेर्ने हो भने सबै मौरीपालन व्यवसाय भएको जस्तो लाग्छ ।’
मौरीपालनमा व्यसायिक किसानको संख्या वढ्दै गएपछि लगानी पनि ह्वात्तै वढ्को छ । अहिले करिवन किसानहरुले मात्रै एक हजार दुई सयभन्दा वढी घारमा ७ करोडभन्दा वदी लगानी गरेका छन् । जिल्लामा मौरीपालनको सम्भावना देखेपछि र यहाँका कृषकहरु मौरीपालन व्यवसायमा आकर्षित हुँदै गएपछि साना तथा मझैता कृषक आयस्तर बृद्धि आयोजना (रिजमएफपी) ले पनि ठूलो लगानी गरेको छ । जिल्लाका विभिन्न ठाउँ रहेका मह प्रशोधन केन्द्र, मौरी समाग्री उत्पादन केन्द्र, मह उत्पादन केन्द्र लगायतका क्षेत्रमा झण्डै सात करोडभन्दा वढी लगानी गरेको छ । यसरी कृषकहरुको र उपआयोजनाको मोटामोटी रुपमा लगानी जोडने हो भने जिल्लामा मौरीपालन व्यवसायमा १५ करोडभन्दा वढी लगानी भएको पाइन्छ ।
त्यसो त जिल्ला कृषि विकास कार्यालयले पनि विभिन्न समयमा जिल्लाका कृषकहरुलाई मौरीपालन व्यवसायमा अझ लगनशील र आकर्षित गराउनका लागि लगानी गर्दै आएको छ । वाली संरक्षण शाखा÷वाली संरक्षण कार्यक्रमअन्तर्गत जिल्लाका मौरीपालन किसानहरुलाई उनीहरुको व्यसायमा टेवा पु¥याउनका लागि मौरीघार, मौरीसहितका घार, मौरीजन्य औजार अनुदानमा वितरण गर्नका साथै कृषकहरुलाई आवश्यकताअनुसार प्राविधिक सेवा दिदै आएको वाली संरक्षण अधिकृत पिताम्बर वस्नेत बताउछन् । ‘मौरीपालन व्यवसाय जिल्लाको संमृद्धिसँग पनि जोडिएको पेशा हो’, उनले भने, ‘कृषकहरु यसमा अत्यन्तै उत्सुक छन्, सफल पनि भएका छन् ।’
मौरीका लागि अति आवश्यक तोरी खेती जिल्लामा राम्रो हुदै आएको छ । अहिले जिल्लामा १८ हजार हेक्टर क्षेत्रमा तोरी खेती हुने गरेको कृषि विकास कार्यालयको तथ्याङमा छ । त्यस्तै जिल्लाको चुरेक्षेत्रमा चिउरीका बोटहरु पनि प्रसस्त भएका कारण पनि यहाँ व्यवसायिक मौरीपालनको सम्भावना राम्रो भएको बस्नेतको भनाइ छ ।
जिल्लामा विशेष गरी सेरेना, मोलिफेरा, कठौरी र खाग जातका मौरी पाल्ने गरिएको छ । जिल्लामा सिजनमा चितवन, कपिलवस्तु, रुपन्देही क्षेत्रबाट तीन हजार पाँच सयभन्दा वढी घारहरु चरिचरणका लागि कृषकहरुले ल्याउने गरेका छन् । यो व्यवसायलाई व्यवस्थित र अझ आधुनिकिकरण गर्दै लैजाने हो भने दाङको आर्थिक विकास महत्वपूर्ण टेवा पुग्नुका सार्थ ‘हनी टुरिजम’ को रुपमा विकास समेत गर्न सकिने विज्ञहरु बताउछन् ।