भुपेन्द्रप्रकाश वली
दाङ, ९ असार । दाङका १९ गाविस बाढीको उच्च जोखिममा परेका छन् । जिल्ला प्रशासन कार्यालय दाङकाअनुसार राप्ती र बबई नदीआसपासका सबै गाविस बाढीको उच्च जोखिम रहेको छन् । जिल्लाका पुरन्धारा, पन्चकुले, धनौरी, गोलटाकुरी, उरहरी, डुरुवा, फुलबारी, ढिकपुर, धर्ना, सतबरिया, राजपुर, बेला, गढवा, चैलाही, सोनपुर, गंगापरस्पुर, सिसहनिया, गोबरडिहा र लालमटिया गाविस बाढीको जोखिम रहेका छन् ।
तारजाली कमजोर
यस्तै, राप्ती आसपासका बासिन्दामा पनि बाढीको त्रास बढ्दै गएको छ । राप्तीका विभिन्न स्थानमा तारजाली बाँध्ने काम भइरहे पनि त्यो बलियो नभएको स्थानीयको भनाइ छ । सोनपुर गाविसका सतिश आचार्यले उपभोक्ता समितिमार्फत गरिनुपर्ने तारजालीको काम ठेकेदारलाई दिँदा कमजोर भएको बताए । ‘बर्सेनि तारजालीको काममा करोडाँै खर्च भइरहेको छ ।’ उनले भने, ‘तर ठेकेदारले कमजोर संरचना बनाउँदा बर्सेनि बाढीले क्षति पुर्याउँदै आएको छ ।’
दुई वर्षअघि आएको बाढीले दाङमा दर्जन बढी मानिसको मृत्यु भएको थियो भने ६ सय बढी परिवार विस्थापित भएका थिए । गत वर्ष पनि राप्ती र बबई नदीआसपासमा बाढीले क्षति पुर्याएको थियो । त्यस्तै, चुरेअन्तर्गत आउने स–साना खोलाले पनि दाङका विभिन्न स्थानमा मानवीय तथा भौतिक क्षति पुर्याउँदै आएको छ ।
स्थानीयमा बाढीको त्रास
नदीको सतह बढेसँगै दाङवासीमा बाढीको त्रास पनि बढ्दै गएको छ । राप्ती र बबई नदीआसपासका बासिन्दामा अघिल्ला वर्षजस्तै बाढीले कुनवेला क्षति पुर्याउने हो भन्ने चिन्तामा छन् । दुई वर्षअघिको बाढीले सबैभन्दा धेरै क्षति पुर्याएको फुलबारी गाविसका देवीराम कुसारीले बबई खोलामा पानीको सतह बढेसँगै चिन्ता बढ्दै गएको बताए । ‘बबईले जुनसुकै वेला पनि आकार बढाउन सक्छ,’ कुसारीले भने, ‘पोहोर साल बाढी नआए पनि परारको घटना फेरि दोहोरिने चिन्तामा छौँ ।’