धनुषा, १९ फागुन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले बन्द उद्योग तथा कलकारखाना पुनःसञ्चालनमा ल्याउनका लागि पहल गर्ने बताउनुभएको छ ।
जनकपुरस्थित बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेडमा प्रादेशिक मन्त्रालय स्थापना भएको हुँदा कारखाना सञ्चालनमा ल्याउन समस्या हुने भन्दै उहाँले जचुकालीमा प्रादेशिक मन्त्रालय स्थापना भएको अवस्थामा मन्त्रीहरुको आवासका लागि अन्तै निवास व्यवस्था गर्न प्रादेशिक मुख्यमन्त्रीलाई आग्रह गर्नुभयो ।
मन्त्री यादवले समाजवादको आधार तयार नभएसम्म देश प्रगतिको बाटोमा अगाडि बढ्न नसक्ने बताउनुभयो । समाजवादको दिशामा अगाडि बढ्नका लागि सम्पूर्ण नेपालीको आर्थिक विकास समान रुपमा हुनु आवश्यक रहेको उहाँको भनाइ थियो ।
“अहिलेको चुनौती संविधान संशोधन हो, संविधान संशोधनको सवालमा वर्तमान सरकारले आवश्यक पहल गर्छ,” उहाँले भन्नुभयो– “सबैलाई समेटेर संविधान संशोधन हुन्छ ।”