काठमाडौं, १६ फागुन । पूर्व–पश्चिमलाई रेलमार्गबाट जोड्ने लक्ष्यअनुसार हाल सिमरा–बर्दिवास खण्डमा निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ ।
२०७१ देखि निर्माण थालिएको उक्त रेलमार्गको समग्र भौतिक निर्माणको काम भने सुस्त देखिएको छ । सरकारले पूर्व–पश्चिमलाई रेलमार्गबाट जोड्ने लक्ष्यअनुरूप सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखेको भए पनि प्राथमिकता नपाउँदा निर्माण कार्य सुस्त भएको छ । पर्याप्त बजेट नहुनु, जनशक्ति अभावलगायत कारण निर्माण कार्य प्रभावित हुँदै आएको विभागको भनाइ छ ।
सम्भाव्यता सम्पन्न भइसकेको उक्त रेलमार्ग निर्माणका लागि सबै क्षेत्रको विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर० भने तयार भएको छैन । सिमरा–बर्दिबास, १ सय २७ किमीको बर्दिवास–तम्सरिया खण्ड, ६५ किमीको तम्सरिया–बुटवल खण्ड, २८ किमीको सिमरा–वीरगञ्ज र ४४ किमीको बुटवल–भैरहवा–लुम्बिनी लिङ्कको डीपीआर भने तयार भएको छ । यस्तै, बुटवल–गड्डाचौकी ४२१ किमी०को डीपीआर बनाउने प्रक्रिया शुरू भएको विभागको भनाइ छ ।