काठमाडौँ, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दुई तिहाइ समर्थन पुर्याउने गरी संघीय समाजवादी फोरमसँग लिखित समझदारीको तयारी गरेको छ । फोरमले उठाउँदै आएका संविधान संशोधनलगायत मागका सम्बन्धमा लिखित समझदारीको तयारी भएको हो ।
एमाले नेता सुवास नेम्बाङका अनुसार छलफल सकारात्मक रहेकाले बुधबार नै कुनै सहमति हुने सम्भावना पनि छ । ‘उहाँहरूसँगको छलफल सकारात्मक बनेको छ, बुधबारसम्म कुनै सहमति गर्न सकिन्छ कि भनेर हामी पहल गरिरहेका छौं,’ उनले भने । कान्तिपुरमा खबर छ –सोमबारको मन्त्रिपरिषद् विस्तार अघि नै फोरम अध्यक्ष उपेन्द्र यादवले सरकारमा आउने सकारात्मक सन्देश दिएका थिए । त्यहीकारण प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आंशिक विस्तार मात्र गरेका हुन् ।
बुधबार सहमति भएलगत्तै फोरम सरकारमा सहभागी हुनेछ । मंगलबार दिउँसो वाम गठबन्धन र फोरमका नेताबीच अनौपचारिक कुराकानी भएको थियो । फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले कुनै सहमति गरी सरकारमा जान आफूहरू सकारात्मक रहेको बताए ।