काठमाडौं, १४ फागुन । प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका फरार अभियुक्त भनिएका रेशम चौधरी प्रहरीकै नाकमुनिबाट अदालतको इजलासमा हाजिर हुन पुगेका छन्।
‘उहाँसँग आत्मसमर्पणबाहेक अरु कुनै विकल्प थिएन,’ कैलालीका एसपी विनोद घिमिरेले भने, ‘हामीसँग पनि कुरा भइरहेको थियो, अदालत जानुभएछ, हामी आदेश पर्खिरहेका छौँ।’
२०७२ भदौ ७ गते थरुहट आन्दोलनका क्रममा सात प्रहरी र एक बालकको मृत्यु भएको थियो। मारिनेहरुमा सेती अंचल प्रहरी कार्यालय धनगढीका प्रमुख एसएसपी लक्ष्मण न्यौपाने, नेपाल प्रहरी निरीक्षकद्वय बलराम विष्ट, केशव बोहरा, प्रहरी जवान लक्ष्मण खड्का र लोकेन्द्र चन्द थिए। नेपाल खबरले लेखेको छ- सशस्त्र प्रहरी हवल्दार रामबिहारी चौधरी, ललित साउद र स्थानीय नेत्र बहादुरसाउदका २ वर्षीय छोरा टेकेन्द्र साउदको पनि मृत्यु भएको थियो।
चौधरीलाई त्यसयता सो घटनाका योजनाकारका रुपमा प्रहरीले फरार मान्दै आएको छ। तर गत निर्वाचनमा उनी कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।