लक्की चौधरी
काठमाडौँ, १२ फागुन । नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)को बैठक शनिबारदेखि काठमाडौँमा बस्दैछ । हरेक तीन महिनामा बस्ने समूहको बैठक शनिबार र आइतबार दुई दिन चल्नेछ ।
नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी पाएको प्रबुद्ध समूहको बैठकमा दुवै देशबीचको सुरक्षा संवेदनशीलता, जलस्रोत, समग्र हितका विषयमा छलफल भइरहेको छ । छलफलको पहिलो चरण करिब सम्पन्न भएकाले मस्यौदाको काम सुरु हुने समूहका सदस्य आचार्यले बताए ।
यसअघि दुई देशबीच भएको पारवहन सन्धि र सन् १९५० को मैत्री सन्धिको विषयलाई समयानुकूल परिमार्जन गर्न दुवै देशका विज्ञ समूह तयार भएका छन् । समूहले व्यापक छलफल गरी तयार गर्ने प्रतिवेदनलाई दुवै देशको सरकारले कार्यान्वयनमा लाने प्रतिबद्धता यसअघि नै जनाएका छन् ।