बाजुरा, ८ फागुन । बाजुराको बडीमालिका नगरपालिका–८ मा सोमबार साँझ जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का अन्दाजी ४० वर्षका बलबहादुर बुढा र मुगु जिल्लाको खत्याड गाउँपालिका– ८ का कालीबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ ।
घाइते भएकामध्ये स्वामीकार्तिक गाउँपालिका–५ जेराका सिंहबहादुर शाही र हुम्ला जिल्ला श्रीनगर गाउँपालिकाका कर्णबहादुर रोकायाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक वलीले बताउनुभएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि अछामको बयलपाटा रिफर गरिएको प्रहरीले जनाएको छ । रिफर गरिएकामध्येको टाउकोमा चोट लागेको छ ।
कोल्टीबाट मार्तडी आउँदै गरेको से १ ज ९४० नं को जीप जिल्ला स्वास्थ्य कार्यालयको परिसरबाट ५० मिटर तल साँफे–मार्तडी राजमार्गमा खसेको प्रहरीको भनाइ छ । गाडी चालक भने फरार रहेको प्रहरीले बताएको छ । चालकको खोजी कार्य भइरहेको वलीले बताउनुभयो । रासस